एकै ठाउँ चार अजिंगर

पुस २३, २०८१

मनोज पौडेल

Four pythons in one place

लुम्बिनी — लुम्बिनीको महिलवार–पडरिया सडकमा पर्ने श्रंकापुरस्थित तेलार खोलाको पक्की पुलको दक्षिणतर्फ मंगलबार दुई र उत्तरतर्फ दुईवटा अजिंगर देखिएका छन् । दुर्लभ जीव अजिंगर एकै ठाउँ चारवटा देख्दा स्थानीय अचम्ममा परे ।

तर, संरक्षणकर्मी यो खुसीको कुरा भएको बताउँछन् । अहिले अजिंगरको प्रजननको बेला भएकाले एकै ठाउँमा यसरी धेरै देखिनु राम्रै कुरा भएको कछुवा तथा सर्प विशेषज्ञ डा. करनबहादुर शाहले बताए । ‘त्यही भएर सर्पलाई बढी डिस्टर्ब गर्नु हुँदैन । डिसेम्बर/जनवरी महिनामा अजिंगरको प्रजनन हुन्छ । प्रजननका बेला धेरै संख्यामा एकै ठाउँमा देखिनु संरक्षणका क्षेत्रमा राम्रो कुरा हो,’ उनले भने ।

पुलको उत्तरतर्फ एउटा अजिंगर रुखमा झुण्डिएको थियो भने अर्को त्यही छेउको झारपातमाथि बसेको थियो । अरू दुई दक्षिणतिर पुलको तल प्वालमा बसेका थिए । चारवटै अजिंगर वयस्क र करिब ३ मिटर लामा थिए र झन्डै २०/२२ किलो तौलका थिए । यसले २० देखि ८० वटासम्म अण्डा पार्छ । अण्डालाई अन्य साना वन्यजन्तुले हानि नोक्सानी नगरे अधिकांश हुर्किन्छन् ।

यसले करिब दुईदेखि ३ महिनामा बच्चा कोरल्ने वाइल्डलाइफ फोटोग्राफर राज अधिकारीले बताए । नेपालमा इन्डियन रक पाइथन र बर्मिज पाइथन अजिंगर पाइन्छन् । यो बर्मिज पाइथन हो । अजिंगरको भालेभन्दा पोथी ठूलो हुन्छ । वन, घाँसे मैदान, दलदल र ताल पोखरी खोला छेउछाउमा पाइन्छन् । यिनीहरू उत्कृष्ट पौडीबाज पनि मानिन्छन् ।

यसले पारिस्थितिक प्रणाली स्वस्थ राख्न भूमिका खेल्छ । बालीनाली हानि गर्ने मुसा खान्छ । त्यस्तै स्तनधारी, चरा र सरीसृपको सिकार गर्छ । ठूला अजिंगरले मृग वा जंगली सुँगुर जस्ता ठूला जनावरलाई पनि आफ्नो आहारा बनाउने गर्छ ।

बर्मी पाइथन संसारको सबैभन्दा ठूलो सर्प प्रजातिमध्ये एक हो । यो नेपालमा २ हजार ५ सय मिटर उचाइसम्म पाइएको छ । यसको आयु १३/१४ वर्ष हुने बताइएको छ । यो गैरविषालु हुने सर्प विशेषज्ञ बताउँछन् । नेपालको वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुमा राखेको छ । आईयूसीएनको संवेदनशील सूचीमा यो रहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित दक्षिणी गेटनजिक बाटोमा रहेको रुखमा झुण्डिएको सर्प हेर्न, फोटो र भिडियो खिच्न मंगलबार घुइँचो नै लागेको थियो । दिनभरिजसो एकै ठाउँ बसेका अजिंगर साँझ परेपछि लुकेका थिए । 

लुम्बिनी उपवनमा प्रशस्त अजिंगर रहेको र चरासँगै सरिसृपप्रेमीका लागि पनि लुम्बिनी उस्तै आकर्षक गन्तव्य रहेको लुम्बिनी पर्यटन परिषद्का सदस्य लीलामणि शर्माले बताए ।

मनोज

Link copied successfully