डिजाइनमा नै त्रुटि भएपछि तुरिया खोलाको पुल अलपत्र 

पुस २१, २०८१

नवीन पौडेल

The Turia river bridge is stuck due to a mistake in the design itself

पश्चिम नवलपरासी — पक्की पुलको डिजाइनमा नै त्रुटि भेटिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको तुरिया खोलामा निमार्णाधीन पुल अलपत्र परेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा २०७७ सालबाट निर्माण थालिएको पुल २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने हो ।

८ करोड ७९ लाखमा एमएस सगुन ओम इन्फ्राटेक जेभी बुटवलले ठेक्का लिएको पुल निमार्णका क्रममा खोलाको सतह र पुलको डिजाइन नमिलेपछि काम रोकिएको थियो ।  डिजाइन संशोधन गरेपछि ठेकेदार पक्षले कामलाई अगाडि बढाएको छैन ।

पुल निर्माण कहुदासम्म खोलामा बालुवा भरिएर पुलको सतहसम्मै आउने अवस्था आएपछि डिजाइन त्रुटिपूर्ण रहेको पत्ता लागेको थियो । रामग्राम नगरपालिका वडा नम्बर–६ पोखरापालीदेखि पण्डितपुरसम्म ४० करोडको लागतमा पक्की सडक निर्माणको चरणमा छ ।

पुल अलपत्र हुँदा यो सडक भएर यात्रा गर्ने यात्रुलाई पनि असर पुगेको छ । प्रदेश सरकारअन्तर्गतको सडक पूर्वाधार कार्यालय पश्चिम नवलपरासीका प्रमुख इन्जिनियर हितेन्द्र रायमाझीले ठेकेदारले पटक–पटक ताकेता गर्दा पनि काम अगाडि नबढाएको बताए ।

पुलको उचाइ बढाउने गरेर काम अगाडि बढाउने सहमति भए पनि काम भने सुरु भएको छैन । स्थानीयले तत्कालै पुलको काम अगाडि बढाउन र आगामी वर्षा यामसम्ममा सम्पन्न गर्न माग गर्दै आएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully