गुल्मीमा खुल्यो रेसुङ्गा पानी उद्योग

पुस १८, २०८१

गगनशिला खड्का

Resunga water industry opened in Gulmi

गुल्मी — गुल्मीमा आधुनिक पानी उद्योग सञ्चालनमा आएको छ । झण्डै दुई करोडको लगानीमा रेसुङ्गा नगरपालिका–३ मा शुद्ध पिउने पानी ‘रेसुङ्गा आक्वा’ अंग्रेजी नयाँ वर्षसँगै बुधबारदेखि बजारमा आएको हो ।

रेसुङ्गा नगरपालिकाकै तीन जना साथी मिलेर रेसुङ्गा जल नामक खाने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । रेसुङ्गा नगरपालिका–३ का सन्तोष कुँवर, वडा नं. ६ का रामु शर्मा र वडा नं. २ का विश्वास पुनले रेसुङ्गाको पानीलाई प्रशोधन गरी ब्रान्डिङ गरेर ‘रेसुङ्गा आक्वा’ बजारमा ल्याएका हुन् । कुँवर सिभिल इन्जिनियर र शर्मा मेकानिकल इन्जिनियर हुन् भने पुन पनि प्राविधिक लाइनकै युवा हुन् । 

आफूहरू माध्यमिक तहसम्म सँगै पढेका साथीहरू रहेको र अहिले आफ्नै ठाउँमा केही नयाँ काम गर्ने सोचले पानी उद्योग सञ्चालनमा ल्याएको रेसुङ्गा जल प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताए । ‘हामी रिडर्स पब्लिक हाइस्कुलमा पढेका क्लासमेट हो, फरक–फरक प्रोफेसनमा रहेका हामीहरूबीच अनौपचारिक रूपमा केही गरौं न आफ्नो ठाउँमा भन्ने छलफल हुँदै जाँदा पानी उद्योग खोल्ने निर्णयमा पुग्यौं,’ उनले भने ।

२०७९ जेठमा उद्योग दर्ता भए पनि अध्ययन तथा अन्य तयारीका कारण उद्योग स्थापना २०८० वैशाखदेखि मात्र सुरु भएको थियो । उद्योग स्थापना सम्पन्न भएपछि ४ महिना परीक्षण गरेर बुधबारदेखि व्यावसायिक उत्पादन सुरु भएको उनको भनाइ छ ।

उद्योगमा अहिले प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको पूर्ण स्वचालित उद्योग जडान भएको छ । तर तत्कालका लागि प्रतिघन्टा १३ सय लिटर पानी उत्पादन गरिएको उनीहरूको भनाइ छ । उद्योगले अहिले एक लिटर र आधा लिटरका बोतल तथा ठूलो २० लिटरको जारमा पानी भरेर बजार पठाउन सुरु गरेको छ ।

अहिले गुल्मीमा अर्घाखाँची, रूपन्देही, पाल्पा, पर्वत लगायत जिल्लामा उत्पादन भएको मिनरल वाटर आउने गरेकामा अब त्यसभन्दा सस्तो मूल्यमा गुल्मीमै उत्पादन भएको पानी पुर्‍याउन थालिएको अध्यक्ष सन्तोषको भनाइ छ । ‘बाहिरको पानी अहिले प्रतिकार्टुन १८० रुपैयाँदेखि २ सयसम्ममा गुल्मीमा बिक्री भएको छ तर हामी त्यसभन्दा सस्तो १ सय ६० रुपैयाँ प्रतिकार्टुनमा उपलब्ध गराएका छौं,’ उनले भने, ‘फ्याक्ट्री रेट त्यसभन्दा पनि सस्तो छ, हामी उद्योगबाट १५० रुपैयाँ प्रतिकार्टुन उपलब्ध गराउन सक्छौं ।’

जिल्लामा पानी उद्योग सञ्चालन गर्न चुनौती भए पनि रेसुङ्गाको पानीले राम्रो बजार पाउने सञ्चालकहरूको विश्वास छ । ‘बसाइँसराइ, अरु सामाजिक समस्याको चुनौती त छ नै,’ सन्तोष भन्छन्, ‘तर रेसुङ्गाको पानीको आफ्नै महत्त्व छ, यो पानीलाई प्रशोधन गरेर स्प्रिङ्ग वाटरका रूपमा बजारमा पढाउँदा सफल हुन्छ भन्ने विश्वास छ ।’

उद्योगबाट प्रशोधित पानी दैनिक रूपमा ल्याब जाँच गरी बजार पठाउने उद्योगले जनाएको छ । ‘न्युनतम लेभलको टेस्ट पीएच, टेम्प्रेचर, हार्डनेस, टीडीएस लगायतको जाँच नियमित आफैं गर्छौं,’ उनले भने, ‘हरेक तीन महिनामा भैरहवाको सरकारी ल्याबबाट जाँच गर्ने व्यवस्था छ ।’

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully