शीतलहरबाट बच्न रामग्राममा दाउरा वितरण

पुस १८, २०८१

नवीन पौडेल

Distribution of firewood in Ramgram to avoid cold wave

परासी — शीतलहर बढेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दाउरा वितरण सुरु गरेको छ । तीन–चार दिनदेखि हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएपछि सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

नगरका मुख्य चोक, बजार क्षेत्र र ग्रामीण भेगमा आगो ताप्नका लागि निःशुल्क रूपमा दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

सार्वजनिक स्थानमा आगो ताप्न पाउँदा दैनिक मजदुरी गर्ने र विपन्न वर्गका स्थानीयलाई सहज हुने भएकाले नगरका १८ वटा वडाको सार्वजनिक स्थानमा आगो बाल्न दाउरा वितरण गरिएको हो ।

जिल्लाका सातवटै पालिकाले २० लाखदेखि ५० लाख रुपैयाँ विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको भए पनि सम्भावित विपद्को तर्जुमा गरेर योजना बनाउन नसक्दा र्सासाधारणले समयमा नै राहत र विपद्बाट जोगिन पूर्वतयारी हुन सकेको छैन ।  

पूर्वी र पश्चिम नवलपरासीमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम नवलपरासीमा  सोमबारदेखि र पूर्वी नवलपरासीमा बिहीबारदेखि  घाम नलागेको र बाक्लो हुस्सुले गर्दा एक्कासि जाडो बढेको छ । जसका कारण  जनजीवन प्रभावित बनेको छ ।

अत्यावश्यक बाहेक अरू काममा बाहिर नहिँड्न र न्याना कपडा लगाउन स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । 

चिसोको कारण दैनिक मजदुरी गर्ने र विपन्न परिवारका मानिस बढी प्रभावित भइरहेका छन्  । चिसोका कारण  जिल्लाका मुख्य व्यापारिक केन्द्र परासी, सुनवल, बर्दघाट लगायतका बजारमा चहलपहल घटेको छ । 

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती, दलदले, चोरमारा लगायतका क्षेत्रमा पनि शीतलहरले जनजीवन प्रभावित भएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully