बुटवल उपमहानगरपालिकाले बनायो नगरगान

पुस १८, २०८१

घनश्याम गौतम

Butwal sub-metropolitan city created the city anthem

बुटवल — बुटवल उपमहानगरपालिकाले आफ्नो नगरगान तय गरेको छ । नगर गीत बुधवारबाट सुरु भएको १६ औं नगरसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आएको छ । नगरपालिकाले गीतका शब्द र लय संयोजनका लागि सूचना निकालेको थियो।

त्यसमा १४ जनाले शब्द पेश गरेका थिए । तीमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको शब्द उत्कृष्ठ ठहर भएको नगरप्रमुख खेलराज पाण्डेले बताए ।

‘बुटवलको कला, संस्कृति, रहनसहन र महत्व दर्साएको गीत प्रयोग र प्रचारमा ल्याएका छौं,’ उनले भने, ‘नगरगीतले नगरबासीलाई थप आफ्नोपन र बुटवलको महत्व उजागर गर्न सहयोग पुग्नेछ ।’ 

नगरगीतमा बुटवलको कला, संस्कृति, ऐतिहासिकता र पहाडी जिल्लाका नागरिकले ५० वर्ष पहिला बुटवलमा घिउ बिक्री गर्ने र त्यसको आम्दानीले नुन किनेर फर्कने अवस्थाको पनि सन्देश दिएको छ । चुरे पहाडका छेउमा रहेको तराईको उर्भरभुमि, तिनाउ नदी, रामापिथेकस, बुद्धवल्लीलाई गीतले जोडेको छ ।

त्यस्तै, ऐतिहासिक स्थल उजिरसिंह, मणिमुकुन्द, जितगढी किल्ला, पर्यटकीय स्थल बसन्तपुर, नुवाकोटको महत्वलाई पनि गीतले दर्साएको छ ।

कृषि, उद्योग, व्यापार, शिक्षा र स्वास्थ्यमा पनि बुटवल अब्बल रहेको गीतले शब्द मार्फत व्यक्त गरेको गीतका रचनाकार पाण्डेले बताए । यस अघि तिलोत्तमा नगरपालिकाले पनि आफ्नै नगरगीत बनाएर प्रचारमा ल्याएको छ ।

यस्ता छन् बुटवलको नगरगानका शब्द :

चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल

रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।

बहु भाषा, धर्म संस्कार, थरिथरि जाति

वसन्तपुर, नुवाकोट मुस्कुराउाछन् माथि ।

मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो

घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

कृषि, उद्योग, व्यापार र पर्यटनको लहर

देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।

प्राकृतिक सम्पदा र सभ्यताको खानी

सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।

हाम्रो खस्यौली, राम्रो बटौली, प्यारो बुटवल ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully