लुम्बिनीमा प्रदेश प्रमुखबाट फिर्ता भएको कर्मचारी विधेयक प्रदेशसभामा पेश हुँदै 

पुस १७, २०८१

वीरेन्द्र केसी

The staff bill returned by the state chief in Lumbini is being presented in the state assembly

देउखुरी — लुम्बिनी प्रदेश सभा पाँचौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट फिर्ता भएको कर्मचारी विधेयक पेश हुँदैछ । मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 प्रदेश प्रमुख घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देश सहित फिर्ता पठाएका थिए । यी दुई विधेयक प्रदेश सभाले पास गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको थियो ।

प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २७ गते प्रदेशसभाबाट पास भएको थियो । विधेयक प्रदेश प्रमुखले सन्देश सहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए ।

यस्तै, प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले  प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने र प्रदेश सभा सदस्यहरुले समसामायिक बिषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

वीरेन्द्र

Link copied successfully