पत्र पढेर सुनाउने र शुभकामना आदानप्रदान गर्ने कार्यसूची, कर्मचारी सम्बन्धी फिर्ता विधेयकमा छलफल नहुने
देउखुरी — लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आज मंगलबार दिउँसो २ बजे देउखुरीमा बस्दै छ । साढे तीन महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्न थालेको हो । प्रदेश सभाको चौथो अधिवेशन भदौ ३१ गते बसेर अन्त्य भएको थियो ।
मंगलबारको पहिलो बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनसम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाउने र दलका नेताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताए । प्रदेश सरकारको पुस ८ गते बसेको बैठकले लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
प्रदेश सभाका सचिव पुनले मंगलबारको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने बताए ।
‘पहिलो बैठकमा प्रदेश प्रमुखको प्रदेश सभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र शुभकामना आदानप्रदान मात्र हुन्छ होला,’ उनले भने, ‘प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक केही बेरमा बस्दैछ ।’ वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएर पिजन होलमा राखिएको र उक्त विधेयक प्रदेश सभाको पहिलो वा दोस्रो बैठकमा पेस हुने उनले बताए ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइएको प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम पुनर्विचार गर्न आवश्यक देखिएकोले सन्देशसहित २०८१ असोज २२ गते प्रदेश सभामा फिर्ता गरेका थिए ।
फिर्ता भएका मध्ये निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ भदौ २७ गते र प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते प्रदेश सभाबाट पारित भएका थिए । फिर्ता दुवै विधेयक पहिलो बैठकमा पुनः छलफलका लागि पेस नहुने सचिव पुनले बताए ।
