पाल्पा — पाल्पाको राम्दीबाट लागूऔषध बोकेका एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदी किनारबाट लागूऔषधसहित कास्की पोखरा महानगरपालिका–९, पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
झोला बोकी शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका श्रेष्ठलाई प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार निलो रङको पछाडि बोक्ने झोला भिरेर नदी किनारमा हिँडिरहेका श्रेष्ठलाई नियन्त्रणमा लिएर खानतलास गर्दा लागूऔषध फेला परेको हो । उनको साथबाट नोफिन लेखेको ४६ एम्पुल, डाइजेपाम लेखेको ४६ एम्पुल, फेनेर्गान लेखेको ४६ एम्पुल गरी जम्मा १ सय ३८ एम्पुल लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप लिइएको प्रहरीले जनाएको छ ।
