श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनीमा पूजाआजा

पुस १३, २०८१

मनोज पौडेल

Worship at Lumbini by former Sri Lankan President Wickremesinghe

लुम्बिनी — श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेका छन् । निजी भ्रमणका क्रममा यहाँ आएका उनले शनिबार साँझ पूजा गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिंघेले लुम्बिनीस्थित अशोक स्तम्भ र पुष्करणी पोखरीको समेत अवलोकन गरे । परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरमा परित्रान पाठ गरेका थिए । 

पूर्वराष्ट्रपति विक्रमासिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्ले र सूचना अधिकृत राजन बस्नेतले स्वागत गरेका थिए । उक्त अवसरमा कोषका तर्फबाट पूर्वराष्ट्रपति विक्रमासिंघेलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । आइतबार उनी शाक्य वंशीय राजधानी प्राचीन कपिलवस्तुको तिलौराकोट भ्रमण गर्ने बताइएको छ । 

विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दसौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए । उनी पुस १७ सम्म नेपालमा रहने बताइएको छ ।

मनोज

Link copied successfully