लुम्बिनीमा लगानीको प्रचूर सम्भावना : विज्ञ

पुस ११, २०८१

सन्जु पौडेल

Huge investment potential in Lumbini: Expert

तिलोत्तमा — लुम्बिनी प्रदेशमा लगानीको प्रचूर सम्भावना रहेको विज्ञले बताएका छन् । बुटवलमा बिहीबार आयोजित ‘नेपालको व्यावसायिक नीति तथा लुम्बिनी प्रदेशमा लगानीका अवसर’ विषयक गोष्ठीमा सहभागी विज्ञले अरु प्रदेशको तुलनामा लुम्बिनीमा लगानीका लागि उपयुक्त सम्भावना र अवसर रहेको बताएका हुन् ।

राजनीतिक अस्थिरता र अस्थिर आर्थिक नीतिका कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको भन्दै उनीहरुले राजनीतिक दलको सर्वसम्मतीमा मुलुकको आर्थिक नीति बनाउनु पर्नेमा जोड दिए । त्यस्तै, आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुशासन अनिवार्य सर्तको रुपमा लागू गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सीमा नियमनमा कडाई, प्राकृतिक स्रोत साधनको समुचित उपयोग र निर्यात, कृषिको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणमा राज्यले ध्यान दिनुपर्ने उनीहरुले औंल्याए । 

गोष्ठीले लुम्बिनी प्रदेशमा पर्यटन, कृषि र सूचना प्रविधिको लागि राम्रो सम्भावना रहेको निष्कर्ष निकालिएको पूर्वअर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल बताए । गोष्ठीमा सूचना प्रविधि, पर्यटन, स्वास्थ्य, शिक्षा र आर्थिक कोरिडोरको रुपमा लुम्बिनी प्रदेशलाई अगाडि बढाउन सकिने र त्यसका माध्यमबाट आयआर्जन गर्न सकिने विषयमा छलफल भएको थियो ।  

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले पृथ्वीनारायण शाहको पालादेखि कायम हुँदै आर्थिक असन्तुलन अहिले पनि विद्यमान रहेको बताए । राजनीतिक दलले २१ औं शताब्दीमा पनि २० औं शताब्दीको समाजवादको वकालत गरिरहेका कारण विकासको मोडल नै कमजोर बनेको उनले टिप्पणी गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले श्रम बजार भनेजस्तो नरहेको, पुँजीमा उचारचढाव, उत्पादनमा प्रविधि र व्यवस्थापन पक्ष कमजोर रहेको औंल्याउँदै लुम्बिनीमा कृषि र पर्यटनलाई जोडेर औद्योगिक विकास गर्न सकिने धारणा राखे । त्यसका लागि सडक सञ्जाल, निर्यात, पर्यटकलाई आकर्षण, प्राविधिक शिक्षालाई रोजगारीसँग जोड्ने गरी राणनीति तयार गर्नुपर्ने उनले बताए ।  

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले प्रदेशको दोस्रो आवधिक योजना निर्माण अन्तिम चरणमा रहेको बताए । उनले गोष्ठीबाट आएका सुझावलाई फिडब्याकको रुपमा लिइने जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षालाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन, उत्पादनमा आयात प्रतिस्थापन र निर्यातसँग जोड्न सकेमात्रै मुलुकको आर्थिक विकास गरी समृद्ध नेपाल निर्माण गर्न सकिने जनाए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully