लुम्बिनी — कोरोनाकालदेखि सुस्ताएका आध्यात्मिक गतिविधि पछिल्लो समय बढ्न थालेपछि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र गुल्जार बन्न थालेको छ ।
कोरोना संक्रमणपछि ओरालो लागेको पयर्टकीय गतिविधि बिस्तारै बढ्न थालेपछि लुम्बिनीका होटल व्यवसायीसमेत उत्साहित भएका छन् । शान्ति, सद्भाव र करुणा मैत्रीको भावले यहाँ आउने भिक्षु, भिक्षुणी, लामागुरु, आनी, उपासक, उपासिका र तीर्थयात्रीको चहलपहलले रौनक पनि बढाएको छ ।
लुम्बिनीमा दुई महिनायता भइरहेका गतिविधिले स्थानीयदेखि पर्यटन व्यवसायीलाई उत्साहित बनाइरहेको छ । नोभेम्बर र डिसेम्बरका ६ सातामा ६ बढी ठूलठूला कार्यक्रम यहाँ सम्पन्न भएका छन् । सर्वसाधारणदेखि पूर्वराजासम्म सहभागी भएका धार्मिक कार्यक्रम सम्पन्न भए । भिक्षु लामागुरुदेखि ख्याति कमाएका धर्मगुरुसम्म यहाँ आए । दक्षिणपूर्व एसियाली मुलुकदेखि युरोपेली मुलुकका उपासक–उपासिका पनि लुम्बिनी आएका थिए ।
विश्व शान्तिका लागि दीप प्रज्ज्वलन गर्न एयर चाइनाको चार्टर्ड विमानमा २ सय २७ जना भिक्षु आए । चीनको सेन्चेनमा रहेको हुम्फा टेम्पलका चिफ एबर्ट मास्टर इनसुनको नेतृत्वमा डिसेम्बर १४ मा आएका भिक्षुहरू डिसेम्बर १५ मा दीप प्रज्ज्वलन गरेर फर्किए । चिनियाँ भिक्षु लिएर चिनियाँ विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
शाक्य सम्प्रदायको १० दिने शाक्यमोल्लाम पूजा पनि लुम्बिनीमा डिसेम्बर ८ देखि १७ सम्म चलेको थियो । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै ४१ औं शाक्या घोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो । पूजामा विभिन्न मुलुकका ५ सय बढी लामा, भिक्षु/भिक्षुणी र उपासक/उपासिका सहभागी थिए । त्यस्तै २ हजार ५ सय स्वदेशी लामा, भिक्षु/भिक्षुणी, उपासक/उपासिका सहभागी थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता रोकिएको थियो । आठ वर्षसम्म भारतमा गरिएको पूजाले लुम्बिनीमा निरन्तरता पाएको हो ।
लुम्बिनी आउँदा सीमामा पाहुना र सहभागीलाई असहज भएको भन्दै आयोजकले सन् २०१४ देखि यहाँको पूजा भारतको बौद्धगयामा सारेका थिए । अहिले स्थानीय र लुम्बिनी विकास कोषको अनुरोधपछि आयोजकहरू लुम्बिनीमै पूजा गर्न आएको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । ‘राज्यले विश्व शान्तिको मुहान भनेर वर्षौंदेखि चलाएको नाराको सार्थकता बल्ल सुरु भयो,’ उनले भने, ‘साँच्चै आध्यात्मिकता र शान्तिको सन्देश फैलाउने काम हुँदा खुसी लागेको छ ।’
विश्व शान्तिका लागि लुम्बिनी खोज्दै पुग्ने वातावरण अहिलेका कार्यक्रमले बनाएको नागरिक अगुवाहरू बताउँछन् । शान्तिका लागि गरिएका कार्यक्रमले विश्वमा अहिंसा र द्वन्द्व घटाउन सहयोग पुर्याउने भएकाले महत्त्वपूर्ण भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीबजिरले बताए ।
त्यस्तै लुम्बिनीस्थित पाल थुप्थेन सेडुप लिङ विहार (हजार बुद्ध मन्दिर) मा गत नोभम्बर १९ देखि २३ गतेसम्म १० दिनसम्म विश्व शान्ति पूजा र प्रवचन गरिएको थियो । नोभम्बर २४ देखि २८ तारिखसम्म प्रतिष्ठित गुरु छोक्यी न्यीमा रिन्पाछेको प्रवचन थियो । प्रवचन सुन्न अमेरिका, बेलायत, चीन, क्यानाडा, थाइल्याण्ड, भियतनाम, कम्बोडिया र जर्मनीबाट ३ सय बढी उपासक/उपासिका लुम्बिनी आएका थिए । गत नोभेम्बर २२ मा नवनिर्मित मन्दिरको उद्घाटनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुगेका थिए । महायानी सम्प्रदायको लुम्बिनीमा रहेकामध्ये यो निकै चित्ताकर्षक र मनमोहक विहार हो ।
गौतम बुद्धले तुचिता लोकमा माता मायादेवीलाई निर्वाण ज्ञान दिएर पृथ्वीलोकमा देवावतार भएर फर्केको दिनको स्मरणमा पूजा गरिएकाले निकै महत्त्वको भएको भिक्षु मैत्री महास्थवीरले बताए । ‘लुम्बिनीमा शान्ति र आध्यात्मिकताका खोज्दै जानेका लागि उपयुक्त वातावरण बनेको छ,’ उनले भने, ‘यसले यहाँको महत्त्व र ओज बढाएको छ । अब लुम्बिनीमा रहेका विहार र गुम्बाले पालो बनाएर प्रत्येक महिना यस्तै कार्यक्रम गर्न अघि सर्नुपर्छ ।’
त्यस्तै लुम्बिनीमा रहेको गेडेन अन्तर्राष्ट्रिय फाउन्डेसन, अस्ट्रियाले गेडेन विहारमा नोभम्बर २१ देखि २३ सम्म देव अवतार पूजा गरेको थियो । यहाँ रहेको सिंगापुरको विहारले नोभेम्बर २२ देखि २४ सम्म प्राणीधान पूजा गरेको हो । यी कार्यक्रममा पनि २ सय विदेशीसहित १ हजार बढी सहभागी थिए ।
यसरी नै शान्ति र मैत्रीपूर्ण कार्यक्रम हुन थाले भने स्वदेश र विदेशमा लुम्बिनीको प्रचार गर्नै नपर्ने लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए । ‘यस्ता कार्यक्रमले आध्यात्मिकता अवलोकन र अध्ययन गर्न लुम्बिनी पुग्नैपर्छ भन्ने सन्देश विश्वभरि जान्छ,’ उनले भने, ‘त्यसले पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्छ ।’
लुम्बिनीमा चहलपहल बढेपछि यहाँका होटल व्यवसायी पनि उत्साहित छन् । लुम्बिनीमा भएका पछिल्ला दुई ठूला पूजाले यहाँ होटल व्यवसायमा केही सुधार देखाएको लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । ‘पूजाताका लुम्बिनीका होटल भरिएर भैरहवासम्म पाहुना बसेका थिए,’ उनले भने, ‘यस्ता पूजालाई निरन्तरता दिन भने योजना बनाउनु जरुरी छ ।’ डेढ महिनायता ८० देखि ९० प्रतिशत बढी होटलका कोठा बुक रहेको उनले बताए ।
लुम्बिनी क्षेत्रमा सामान्यदेखि तारे गरी ८२ वटा होटल रहेका छन् ।
