दाङमा अटो दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

पुस १०, २०८१

दुर्गालाल केसी

1 killed, 2 injured in auto accident in Dang

दाङ — अटो दुर्घटना हुँदा बुधबार दिउँसो दाङमा एकजनाको मृत्यु भएको छ । राजपुरबाट कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो रिक्सा गढवा–कोइलाबास सडकखण्डअन्तर्गत गढवा गाउँपालिका–५, कक्रहवामा पल्टिँदा त्यसमा सवार राजपुर गाउँपालिका–३, भैसहवाका ५० वर्षीय तुलाराम बिकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई अटो पल्टिएको उनले जानकारी दिए । 

दुर्घटनामा भैसहवाकै ४० वर्षीया बसन्ती बिक र ३६ वर्षीय प्रेमचन्द्र यादव घाइते भएका छन् । बिकको लमही अस्पताल र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । 

अटो चालक भैसहवाका ४० वर्षीय मदन बिकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully