कृषि उपज संकलन केन्द्र अलपत्र

पुस ७, २०८१

नवीन पौडेल

Agricultural produce collection center abandoned

परासी — पालिकाभित्रको कृषि उपज संकलन र बिक्रीका लागि निर्माण गरिएको पश्चिम नवलपरासीको सरावलको कृषि उपज संकलन केन्द्र प्रयोगविहीन भएको छ ।

सरावल गाउँपालिका–४ स्थित गोइनीमा लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सरावल गाउँपालिकाले निर्माण गरेको संकलन केन्द्र कार्यविधि अभावमा अलपत्र परेको हो ।

तरकारी तथा खाद्यान्न उत्पादनको उर्वर भूमि मानिने यस क्षेत्रमा किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ सालमा १५ लाखको लागतमा संकलन केन्द्र निर्माण भएको थियो ।

कृषि उपज केन्द्र निर्माण भएपछि कृषि उपजको बजारीकरणका लागि ठूला बजारसम्म जानुपर्ने बाध्यता हट्ने विश्वास लिएका स्थानीय अहिले निराश भएका छन् । ‘चुनावका बेला किसानको उत्पादन, बजारीकरण र मूल्य पालिकाको जिम्मा भन्ने नारा थियो,’ सरावल–३ का राजेन्द्र चौधरीले भने, ‘अहिले निर्माण भएको संकलन केन्द्र समेत अलपत्र छ । कार्यविधि बनाएर तत्काल संचालनमा ल्याउनु पर्यो ।’

संकलन केन्द्र संचालनमा नआएपछि यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । कृषि उपज केन्द्रका लागि निर्माण गरिएको संरचना अहिले गाउँघर क्लिनिकका रूपमा प्रयोग भइरहेको छ । प्रदेश सरकारले निर्माण गरेर कार्यविधि र यसको संचालनका लागि कुनै पनि योजना नबनाउँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनु परेको छ । 

सरावल गाउँपालिकाले उपज केन्द्र संचालनका लागि कार्यविधि निर्माण गर्नेभन्दा पनि यसलाई लघु उद्यमीले उत्पादन गरेको सामग्रीको बिक्री केन्द्रका रूपमा संचालन गर्ने योजना बनाएको छ । ‘प्रदेशले निर्माण गरेका अधिकांस योजनाको हालत यस्तै छ । अब हामीले यसलाई लघु उद्यमीले उत्पादन गरेको हस्तकला र अन्य सामग्रीको प्रदर्शनी र बिक्री केन्द्रका रूपमा संचालन गर्ने योजना बनाएका छौं,’ सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले भने, ‘कृषि उपज केन्द्र कसरी खरिद गर्ने, संचालनको जिम्मा कसलाई दिने भन्ने विषयमा कार्यविधि निर्माण भएको छैन् ।’

लुम्बिनी प्रदेश सरकारले नै सरावल–३ मा निर्माण गरेको हाट बजारको संरचना पनि प्रयोगविहीन भएको छ । हचुवाका भरमा योजना पार्ने र त्यसको संचालनका लागि प्रदेश र स्थानीय सरकारबीच सहकार्य नहुँदा सरावलमा मात्र तीनवटा योजना अलपत्र अवस्थामा छन् । 

सरावल गाउँपालिकामा निर्माणाधीन प्रदेश सरकारको पालिका पहुँच मार्ग पनि अलपत्र छ । २ किलोमिटर सडक साढे तीन वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीले सडक अलपत्र बनेको हो । परासी–नारायणचोक हुलाकी सडक खण्डको भिडटाँडीदेखि सरावल गााउँपालिकाको केन्द्रसम्म जोड्ने पहुँच मार्ग लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण थालिएको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully