तिलोत्तमा — नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको निधन भएको छ । लामो समयदेखि क्यान्सरका कारण बिरामी रहेका पाठकको शुक्रबार बिहान रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो । मणिग्रामनजिकै तिनाउ घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
पाठक लोकतान्त्रिक आन्दोलनसँगै नेपाली कांग्रेसमा जति सक्रिय थिए । उनी सामाजिक संघसंस्थामार्फत सामाजिक योगदानमा उत्तिकै क्रियाशील थिए ।
मणिग्रामस्थित सरस्वती संस्कृत क्याम्पसका संस्थापक अध्यक्ष पाठक राममणि बहुमुखी क्याम्पसको पनि संस्थापक हुँदै पछि अध्यक्षसमेत भएका थिए । रूपन्देहीका धेरै सामाजिक काममा अग्रणी भूमिका निर्वाह गरेका पाठकलाई यस क्षेत्रका सबैले निस्वार्थ, निष्ठावान, सहयोगी अगुवाका रूपमा चिन्ने गरेका छन् ।
उनको निधनले रुपन्देहीवासी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले बताए । नेता पाठकको निधनपछि आफूहरूले एउटा भरोसायोग्य र सल्लाह लिइरहने अभिभावक गुमाएको उनले उल्लेख गरे ।
नेपाली कांग्रेसका महासमिति सदस्य पाठकको पार्थिव शरीरमा कांग्रेस नेता तथा पूर्वसांसद भरत शाह,कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमाका मेयर रामकृष्ण खाण बुटवल नग सभापति एवं बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेयलगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिँदै अन्तिम बिदाइ गरेका हुन । स्याङ्जाको गल्याङमा विसं २०१२ पुस २३ गते जन्मिएका पाठकका श्रीमती, दुई छोरा र एक छोरी छन्।
