‘घुम्न जाऔं बर्दिया’ अभियान सुरु 

बर्दिया घुम्न मुख्यमन्त्री आचार्यको आग्रह

पुस ४, २०८१

वीरेन्द्र केसी

'Ghumn Jaaun Bardia' campaign started

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियामा एकपटक घुम्न सबैलाई आग्रह गरेका छन् ।

प्रदेश सरकारको पर्यटन प्रवर्द्धनअन्तर्गत ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालनको बिहीबार ठाकुरबाबामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सहितका पर्यटकीय गन्तव्य रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको चालु आव अविधभर यो अभियान चल्लेछ । 

लुम्बिनीदेखि बर्दियासम्म पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि वृद्धि गराउने लक्ष्य अनुसार ‘घुम्न आऔं बर्दिया’ अभियानको सुरुआत गरिएको हो । बर्दिया पर्यटकका लागि बाघ मुख्य आकर्षण हो । बर्दियामा बाघ हेर्नकै लागि पछिल्लो सयम विदेशी र भारतीय पर्यटकको संख्या वृद्धि हँदै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, जंगल सफारी दौलतपुर घाटमा पाइने डल्फिन पनि बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । 

लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा शुभारम्भ गरिएको अभियानलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धि, युवालाई स्वरोजगारको योजना अघि सारिएको र त्यसको सुरुआत बर्दियाबाट गरिएको बताए । 

प्रदेश सरकारले निजामती कर्मचारीका लागि आन्तरिक पर्यटकीय क्षेत्र भ्रमणको लागि १० दिनको समय उपलब्ध गराइने पनि उनले बताए । संघ, संस्था, विद्यालय, सहकारी संस्थालगायत सबै निकायमा रहेकाहरुले एक पटक बर्दिया भ्रमणका लागि समय निकालेर घुम्न अनुरोध गरेका छन् । उनले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव भएको पनि आचार्यले बताए । 

पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी पर्यटन सर्किट बनाएर प्रदेशका सबै जिल्लामा पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । लुम्बिनीसँग जोडेर प्रदेशका प्रमुख दुई पर्यटकीय गन्तव्यलाई पर्यटनका माध्यमबाट अभियान सुरु गरिएको उनले बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बर्दियाको  ठाकुरद्धार पर्यटकका लागि प्रदेशकै महत्तपूर्ण प्रमुख गन्तव्यलाई एकआपसमा जोडेर घुम्ने, घुमाउने कार्यक्रम थप्दै जाने र सिंगो प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकलाई पुर्‍याइने लक्ष्य रहेको उनले बताए । 

बर्दियामा पर्यापर्यटन र वन्यजन्तु संरक्षणका लागि कृष्णासार क्षेत्र छुट्टाएर संरक्षण गर्न थालिएको र यसरी अभियान सञ्चालन गरेपछि पर्यटक बढ्ने विश्वास ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालले बताए । 

देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गे विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । कार्यक्रममा लुम्बिनी प्रदेशका ७ वटै मन्त्रालयका पर्यटनमन्त्रीहरु, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने आएका पर्यटकहरु भेषभूषा सहितको थारु संस्कृतिको नाचगान हेरेर रमाउँछन् । थारु होमस्टेमा खानाका परिकार खान पाइन्छ । प्रकृतिले भरिपूर्ण बबई र कर्णाली नदीको बीचमा भएकाले पनि रमाइलो रहेको उनले बताए । यहाँ कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, केदारश्वरधाम, राजापुर गणेश मन्दिर लगायतमा पर्यटक घुम्न सक्छन् । 

ठाकुरबाबाभित्र २३ वटा र मधुवन नगरपालिकाभित्र ३० वटाभन्दा बढी थारु होमस्टे रहेका छन् । ‘धेरै पर्यटक भित्रिएपछि गाइडले काम पाउने, स्थानीय दूध, माछा, मासु, अण्डा, साग तरकारी, फलफूलसहित अन्न उत्पादनले बढ्ने र सयौं युवा रोजगारीसँग जोडिन्छन्,’ लम्सालले भने, ‘हामी बर्दियाका स्थानीय तहले पनि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरेका छौं ।’

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले अघिल्लो वर्ष १६ हजार पर्यटकले बाघ हेरेको बताए । प्रदेश सरकारले अभियान नै सञ्चालन गरेपछि यो वर्ष पर्यटक अझै बढ्न सक्ने उनले अनुमान गरे । निकुञ्जमा १ सय २५ वटा बाघ छन् । पाटेबाध, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायतका ६१ प्रजातिका स्तनधारी वन्यजन्तु, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र ५ सय १३ रैथानेसहित बसाइँसराई गरी आउने चराहरु रहेका छन् ।

चालू आवमा प्रदेश सरकारले पर्यटन प्रवर्द्धन, मेला महोत्सव, क्षमता विकास शीर्षकमा ४ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । सोहीअन्तर्गत घुम्न आऔं बर्दिया कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।

वीरेन्द्र केसी

Link copied successfully