पूर्व-पश्चिम राजमार्गको दाङ खण्ड खुल्यो

पुस ३, २०८१

दुर्गालाल केसी

The Dang section of the East-West Highway was opened

दाङ — स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मंगलबार साँझदेखि अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही–भालुबाङ सडक खण्ड रातिदेखि खुलेको छ ।

मृतककी श्रीमतीलाई रोजगारी, छोराछोरीलाई १२ कक्षासम्म नि:शुल्क पढाउने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि सडक खुलेको हो ।

रा १ क १४१८ नम्बरको निजी स्कुलको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ राप्ती गाउँपालिका–८, बिजौरीमा ठक्कर दिंदा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय कृष्णबहादुर शाहीको मृत्यु भएको थियो ।

मृत्युपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका थिए । सोमबार बेलुका पनि उक्त स्थानमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

उक्त घटनापछि पनि मृतकका आफन्तहरुले मंगलबार दिउँसो सडक अबरुद्ध गरेका थिए । सहमतिपछि सडक खुलाइएको थियो ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully