फरार तीन प्रतिवादी पक्राउ

पुस ३, २०८१

कमल पन्थी

Absconding three defendants arrested

बर्दिया — प्रहरीले बर्दिया जिल्ला अदालतको विभिन्न मुद्दामा सजाय तोकिएका तीनजना फरार प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ । गत भदौ २५ गतेको फैसलाले बाल यौन दुर्व्यवहार मुद्दामा फरार रहेका प्रतिवादी गुलरिया नगरपालिका–११ का बसन्तकुमार कुर्मीलाई पक्राउ गरेको छ । अदालतले कुर्मीमाथि २ महिना ४ दिन कैद फैसला गरेको थियो ।  

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्तीमगरले अदालतबाट २०८० साउन २४ गते नकावजनी चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय भएका बढैयाताल गाउँपालिका–८ का एलिस भन्ने जगतराम सुवेदीलाई पक्राउ गरिएको बताए । 

डीएसपी घर्तीमगरले सोही मुद्दामा ०८० साउन २४ गते जिल्ला अदालतको फैसलाले १ महिना ६ दिन कैद सजाय भएका बढैयाताल गापा–८ का सन्तोष नेपालीलाई पक्राउ गरेको जनाए । 

पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत, बर्दियामा आवश्यक कारबाहीका लागि दाखिला गरेको प्रहरीले जनायो । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully