दाङमा ट्रकको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

पुस २, २०८१

दुर्गालाल केसी

The identity of the person who died after being hit by a truck in Dang has been revealed

दाङ — दाङमा ट्रकको ठक्करबाट सोमबार बेलुका मृत्यु हुने मोटरसाइकल चालकको पहिचान खुलेको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।

सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–२, कटेश नालामा विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक सुनापती गाउँपालिका–५ रामेछापका ४१ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully