ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि दाङको वसन्तपुरमा स्थानीयले गरे राजमार्ग अवरुद्ध

पुस २, २०८१

दुर्गालाल केसी

Locals blocked the highway in Basantpur of Dang after one person died due to a collision with a truck

दाङ — ट्रकको ठक्करबाट सोमबार बेलुका एक जनाको मृत्यु भएपछि उनका आफन्तले मंगलबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ट्रकको ठक्करबाट दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै उनका आफन्तले मंगलबार अपराह्नदेखि राप्ती गाउँपालिका-२ लालमटियामा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम यात्रा गर्ने गाडीहरू अलपत्र परेका छन् ।

सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-२, कटेश नालामाविपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक  गुरुङको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक सुनापती गाउँपालिका–५ रामेछापका ४१ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully