तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति

पुस १, २०८१

सन्जु पौडेल

City chief scholarship to 146 students of Tilottama

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १ सय ४६ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरूले छात्रवृत्तिअन्तर्गत सोमबार नगर प्रमुख रामकृष्ण खाणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा पाएका हुन् । उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।

नगर प्रमुख खाणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएको बताए । उनले यस रकमले पढ्न इच्छा भएर पनि बीचमै पढाइ रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए । 'म धनी भएकाले पैसा बाँडे भनेर प्रचार गर्न दिएको होइन,' उनले भने, 'कुनै पनि बालबालिकाले पढ्ने अधिकारबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता आत्मसाथ गर्दै आफ्नो पारिश्रमिक बाँडेको हुँ ।' उनले बालबालिकामा लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

त्यस्तै, छात्रवृत्तिसँगै पालिकाले कक्षा  ८,  १० र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका  १९ जना  विद्यार्थीलाई सम्मान समेत गरेको छ । प्रतिविद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँ र प्रशंसापत्रले विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । सो अवसरमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य  लगायतले जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरणयोग्य भएको बताए । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully