बुटवलको तिनाउ पुलमा जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु 

मंसिर २९, २०८१

घनश्याम गौतम

3 people including a couple died in a jeep accident at Tinau bridge in Butwal

बुटवल — बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा शनिबार दम्पतीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । 

गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए ।

जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully