भैरहवा — सिद्धार्थनगरको भौतिक पूर्वाधार निर्माण तथा विस्तारका लागि एशियाली विकास बैंक (एडीबी) को मुख्य लगानीमा संचालन हुने तेस्रो चरणको योजना कार्यान्वयनका लागि नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको छ ।
एसियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा १ अर्ब १८ करोड रुपैयाँ लागतको अर्बन रेजिलेन्स लिभ्लिीहुड इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआईपी) योजनाअन्तर्गत सिद्धार्थनगरका सडक लगायतका पूर्वाधार निर्माण गर्न ईकेके इन्फ्रास्टक्चर लिमिटेड भारतसँग बिहीबार सम्झौता भएको हो ।
एशियाली विकास बैंकको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट स्रोतबाट योजना संचालन हुने छ ।
सम्झौता भएकोपछि काम गर्न कार्यदेश पाएको ९ सय दिनभित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । यो योजनाअन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपाली, बिजुली, स्टेटलाईट, सडक कालोपत्रे, आरसीसी ढलान तथा नगर सुन्दरीकरणका लगायतका निर्माण कार्य हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिइएको र समयमै सम्पन्न गर्नकालागी निमार्ण कम्पनीलाई आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाको धेरै अथक् प्रयासले योजना लागू हुने चरणमा पुगेको र योजना निर्माणकालागि नगरपालिकाले पूर्ण रुपमा सहजीकरण गर्ने बताइन् ।
एशियाली विकास बैंकको ऋण लगानीमा हुने यो यूआरएलआईपी योजनाअन्तर्गत रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना, र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि संचालन हुने प्रक्रियामा छ । ती पालिकामा योजना संचालनका लागि अध्ययनकै क्रममा छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापश्चात् एक/दुई महिनाभित्रै यो योजना कार्यान्वयनको चरणमा जाने बताए ।
