सिद्धार्थनगरमा तीनपांग्रे सवारी साधनको नियमन सुरु

मंसिर २६, २०८१

सन्जु पौडेल

Regulation of three-wheelers started in Siddharthnagar

तिलोत्तमा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अटो, टेम्पो तथा ई-रिक्साजस्ता तीनपांग्रे साधनको नियमन सुरु गरेको छ । नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीका रूपमा देखिएका यी साधनलाई मापदण्डभित्र राखेर सञ्चालन गर्न बुधबारदेखि अभियान नै सुरु गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 

'मापदण्डअनुसार सिद्धार्थनगरमा ५ सय अटो तथा रिक्सा चल्न पाउने प्रावधान छ,' उनले भने, 'सबै सरोकारवालाको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रूपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका साधनलाई रोक लगाइने निर्णय भएको छ ।'

नगरपालिकाले पटक-पटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई-रिक्सा दर्ता गराएको छ । अब दर्ता भएका ई-रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभीयान सुरु गरिएको उनले जनाए । 'एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रक्रियामा अगाडि बढाइनेछ,' उनले भने, 'दर्ता भए नभएको सजिलै छुट्याउनका लागि दर्ता भएका ई-रिक्सा चालकलाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।'

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागू गर्ने उद्देश्यका साथ ई-रिक्साको नियमन सुरु गरिएको बताए । 

नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिनादर्ताका अटो टेम्पो तथा ई-रिक्सा सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्री सडकमा सञ्चालन गर्नु पर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully