पाल्पा — तानसेन नगरपालिका–५ टक्सार टोलकी मनिता शाक्यलाई योमरी बनाउन भ्याइनभ्याई थियो । तीन/चार दिदीबहिनीले उनलाई सघाइरहेका थिए । पाल्पाली करुवादेखि गणेश भगवान्को आकारमा बनाइएका थरीथरीका योमरी बनाएका उनीहरूकोमा ग्राहकको भीड पनि थामिनसक्नुको थियो ।
धान्यपूर्णिमाका अवसर पारेर तानसेन नगरपालिका–३ टक्सारस्थित नेवारी टोलमा गत शनिबार राखेको ‘योमरी’ महोत्सवले धेरैको ध्यान खिचेको थियो ।
योमरीका साथै अन्य नेवारी परिकार खाने मौका जुराएको आयोजक मैत्री क्लबकी अध्यक्षसमेत रहेकी शाक्यले बताइन् । महोत्सवमा नेवारी समुदायले बनाएका चाकु (भेली), खुवाको योमरी, मासको बारा, कुखुरा, राँगा, च्याउको छोइला पनि राखिएको थियो । नेवारी परिकार तखला, सिन्कीको झोललगायतका खानाका परिकारहरू पनि राखिएका थिए । ‘ग्राहकले खुवाको योमरी निकै चाख मानेर खानुभयो,’ टक्सार टोलकी सन्ध्या शाक्यले भनिन् । योमरी पुण्यमा यहाँ ५ वर्षदेखि योमरी महोत्सव गरिदै आएको छ ।
स्थानीय सुस्मा महर्जनले महोत्सवलाई नेवारी परम्परा जोगाउने पर्वका रूपमा लिएको बताइन् । ‘कतिपयलाई योमरी के हो ? कसरी बनाइन्छ भनेर पनि थाहा थिएन,’ भनिन्, ‘हामीले महोत्सवमा सबैले प्रत्यक्ष हेर्ने र जानकारी लिने गरी स्टल राखिएको थियो ।’ योमरीका विषयमा धेरैले रुचि लिएको स्थानीय तुमला बज्राचार्यले बताइन् । महोत्सवमा योमरीका साथै खानाको परिकार राखिएको थियो । ‘योमरी कसरी बनाउने रहेछ भन्ने जानकारी धेरैले चासोपूर्वक लिएको पइएको छ,’ उनले भनिन् ।
महोत्सवमा प्रत्यक्ष देख्न पाइने गरी तीन किसिमको योमरी बनाएका थिए । गुलियो (चाकु र तिल) कुराउनी (खुवा) र मासको फरक स्वाद लिनेलाई मास र खुवाको बनाएको उनले बताइन् । महोत्सवमा आउनेले नेवारी समुदायको परिकार थलथले मासु (तःखाला) पनि स्वाद मानेर खाएका थिए । योमरी बनाउनेमा वृद्धवृद्धा पनि थिए । संस्कृति बचाउन र नयाँ पुस्तालाई सिकाउन महोत्सव सफल भएको वडाध्यक्ष बाबुरत्न शाक्यले बताए ।
‘नेवार समुदायले भन्दा अरु समुदायले बडो रुचिका साथ खाएको पाइयो,’ शाक्यले भने । महोत्सवले रौनकता बढाएकाले बाह्य पर्यटकले पनि अवलोकन गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । तानसेनको ऐतिहासिक कला संस्कृतिको संरक्षणमा महोत्सवले टेवा दिने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए । संस्कृति रक्षाका लागि नयाँ पुस्ताले चासो देखानुपर्ने तानसेन गुठी काठमाडौंकी अध्यक्ष प्रमी श्रेष्ठले बताइन् । कला संस्कृतिको क्षेत्रमा प्रशसंनीय काम भएको उनले बताइन् । महोत्सवमा २५ बढी स्टलमा योमरी खाने व्यवस्था गरिएको थियो ।
