सोमबारदेखि पुनः राहदानी सेवा सुरु हुने 

मंसिर २३, २०८१

गगनशिला खड्का

Passport service will resume from Monday

गुल्मी — सर्भरमा आएको समस्याका कारण १८ दिनदेखि बन्द रहेको राहदानी सेवा गुल्मीमा सोमबारदेखि पुनः सुरु हुने भएको छ । गत मंसिर ६ गतेदेखि बन्द भएको सेवा पुनः सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

राहदानी प्रणालीमाथि साइबर हमला भएपछि देशभर राहदानी सेवा बन्द भएको थियो । राहदानी विभाग, देशभरका सबै जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा बन्द भएको राहदानी सेवा सर्भर मर्मतपछि क्रमशः सुचारु हुन थालेकाले गुल्मीमा पनि पुनः सुरु गर्न लागिएको उनले बताए । 

लामो समय सेवा बन्द रहेका कारण सेवाग्राहीको अत्यधिक भीडभाड हुन सक्ने भएकाले अत्यावश्यक बाहेकका अन्य सेवाग्राहीले अर्को हप्तादेखि मात्र सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

गत मंसिर ६ गते राहदानी बनाउन टोकन लिनुका साथै राजस्वसमेत बुझाएका सेवाग्राहीले मंसिर २४, २५ र २६ गतेसम्म सेवा लिन पनि प्रशासनले अनुरोध गरेको छ ।

गुल्मीमा राहदानी बनाउनेको संख्या अत्यधिक रहेको छ । जिल्लाबाट दैनिक ६० जनाले राहदानी बनाउने गरेकाले लामो समय बन्द भएपछि फेरि सुरु गर्दा अत्यधिक चाप भई सेवाग्राहीलाई समस्या हुन सक्ने भएकाले सूचना जारी गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । 

‘दैनिक ५०/६० जनाका दरले आउने सेवाग्राही लामो समय सेवा बन्द भएर फेरि सुरु गर्दा एकैपटक आउनुभयो भने समस्या हुन सक्ने भएकाले पहिला टोकन लिएकालाई मात्र सुरुमा वितरण गर्ने भनेका छौं,’ उनले भने । 

गत वर्ष जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार २ सय ७३ जनाले राहदानी लिएका थिए ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully