पाल्पा — पाल्पा व्यापार संघको सातौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा विष्णु बहादुर कार्कीलाई निर्विरोध चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा कमल ढकाल, उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा सितम भण्डारी, महासचिवमा तुलबहादुर अधिकारी, कोषाध्यक्ष कपिलकृष्ण कार्की, सचिव नारायण बस्याल र अम्बिका तिमिल्सेना चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना शाही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्डे, प्रज्ञासागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल र रवीन्द्र आचार्य रहेका छन् ।
यसअघि साधारसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति ठाकुर गैरेले उद्योगी, व्यापारीको हकहितमा काम गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न कारणबाट पीडित भएका उद्योगी व्यापारीहरुलाई राहत दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले उद्योगी, व्यापारीहरुलाई एकजुट बनाई समग्र आर्थिक क्षेत्रमा टेवा पुग्नेगरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले व्यापार संघले समग्र उद्योगी व्यापारीलाई हित हुनेगरी काम गर्नुपर्नेमा सुझाव दिएका थिए ।
पाल्पा व्यापार संघमा ८ सय बढी सदस्य रहेको निवर्तमान अध्यक्ष बामदेव बस्यालले बताए ।
