कृषि र स्थानीय उत्पादनमा अवलोकनकर्ताको आकर्षण

मंसिर २३, २०८१

नवीन पौडेल

Attract the viewer to agriculture and local produce

परासी — पश्चिम नवलपरासीको सुनवलमा जारी सुनवल औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

ठूला कम्पनी र व्यावसायिक घरानाका स्टलमा भन्दा स्थानीयले उत्पादन गरेका मह, फलफूलका नर्सरी, हस्तकलाका सामान, डालो, टपरी, ढाकाटोपी, अम्रिसोका कुचो राखिएका स्टलमा अवलोकनकर्ताको आकर्षण बढी देखिएको हो । टपरी, डालो, डोको लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका थिए । 

मेला आयोजकले आफ्नो जिल्लाभित्रका घरेलु तथा साना उद्योगका उत्पादनका लागि निःशुल्क प्रदर्शनको व्यवस्था मिलाएको मेला आयोजक सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

‘स्थानीय स्तरमा हुने महोत्सवलाई स्थानीय उत्पादनको प्रदर्शनी र बजारीकरणसँग जोडेका छौं,’ उनले भने, ‘कृषि उत्पादनको प्रविधि, हस्तकलामा दर्शकले बढी चासो दिएका छन् ।’ 

मंसिर १२ गतेबाट सुरु महोत्सव सोमबारसम्म संचालन हुनेछ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully