दिल्लीमा अलपत्र दुई किशोरीको उद्धार गरी आफन्तको जिम्मा

मंसिर २२, २०८१

माधव ढुंगाना

Two teenage girls stranded in Delhi were rescued and handed over to their relatives

भैरहवा — भारतको नयाँ दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई नेपाली किशोरीको उद्धार गरी भैरहवामा आफन्तको जिम्मा लगाइएको छ । धनुषाको सहिद नगरपालिका–४ निवासी १५ वर्षीया र १६ वर्षीया दुई किशोरीलाई शनिबार उद्धार गरी जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आफन्तको जिम्मा लगाइएको हो ।

मानव बेचबिखनबिरुद्ध नेपालमा कार्यरत संस्था आफन्त नेपाल र भारतमा कार्यरत आफन्त इन्डिया फाउन्डेसनको सहकार्यमा उनीहरूको उद्धार गरी भैरहवा ल्याइएको थियो ।

अपरिचित एक भारतीय महिलासँग सामाजिक सञ्जाल टिकटकका माध्यमबाट सम्पर्क भएपछि ती किशोरीहरू घरबाट भागेर दिल्ली पुगेको र तर दिल्लीमा ती महिला सम्पर्कमा नआएपछि उनीहरू अलपत्र परेका थिए ।

‘भारतको नयाँ दिल्ली रेलवे स्टेसनस्थित भारतीय पुलिसले अलपत्र अवस्थामा ती किशोरी भेटिएको खबर आएपछि उद्धारका लागि हामी जुटेका थियौं,’ दिल्लीस्थित आफन्त इन्डिया फाउन्डेसनका उद्धार अधिकृत मानव श्रेष्ठले भने, ‘उनीहरू बेचबिखन र अन्य जोखिममा पर्न सक्ने सम्भावना भएकाले त्यहाँबाट उद्धार गरी नेपाल फर्काएर आफन्तको जिम्मा लगाइएको हो ।’

उनका अनुसार किशोरीहरूसँगै अलपत्र अवस्थामा फेला परेका धनुषा कमला नगरपालिका–३ का पासवान थरका एक किशोरलाई भने कानुनी प्रक्रिया पुर्‍याएर दिल्लीबाटै आफन्तको जिम्मा लगाइएको थियो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई भारत पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गरी कारबाही अघि बढाउन धनुषा प्रहरीलाई पत्राचार गरिने बताए ।

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully