सुन्तला महोत्सव भन्दै पाल्पाका दुई पालिकाले दिए आइतबार बिदा

मंसिर २२, २०८१

माधव अर्याल

Two municipalities of Palpa celebrated Sunday as Orange Festival

पाल्पा — सुन्तला महोत्सव सफल पार्न भन्दै आइतबार दुई पालिकाले स्थानीय बिदा घोषणा गरेका छन् । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले शनिबार र आइतबार राखेको सुन्तला महोत्सव सफल पार्न आइतबार स्थानीय बिदा दिएका हुन् ।

दुई पालिकाको आयोजनामा रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा सुन्तला महोत्सव गरिन लागेको हो । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले राजनीतिक दलका साथै महोत्सव आयोजक समितिको बैठकले आइतबार बिदा दिने निर्णय गरेको बताए ।

महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैंचा व्यवस्थापनमा सीप र ज्ञानको विकास गर्न महोत्सव राखेको उनीहरूले बताए ।

दुवै स्थानीय तहले महोत्सवका लागि ५/५ लाख बजेट विनियोजन गरेका छन् । यस वर्ष किसान भने असिनाले फूल झार्ने, बोट पहेँलै हुने, बोट सुक्दै जाने, साना सुन्तला फल्ने, अमिलो हुने, दाना छिट्टै पहेँलै हुने जस्ता समस्याले हैरान बनेका छन् ।

‘रोग किरा व्यवस्थापन गर्ने भन्दा पनि महोत्सव गर्नेतर्फ पालिकाको ध्यान पुगेको छ,’ सुन्तला किसान होमबहादुर भट्टराईले भने, ‘प्राविधिक व्यवस्था गर्ने र रोग किरा नियन्त्रण गर्ने उपाय खोज्न हाम्रो आग्रह छ ।’ भट्टराईका ३ सय बढी सुन्तलाका बोट छन् । अधिकांश बोटमा रोग लागेको छ ।  

सुन्तला बिक्रीका लागि कुनै समस्या छैन । व्यापारीहरु बोट र बगानमै पुगेर सुन्तला निकासी गर्दै आएका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully