पाल्पा — भासिएको सडक मर्मत नहुँदा पाल्पाको तिनाउ गाउँपालिका–२ दोभानका बासिन्दाले सास्ती खेप्नु परेको छ । दोभान–झ्याङ्ला–हरियाली गाउँ जोड्ने सडकको जमुने र झ्याङ्लाबीचको बन्चरे पहाडमा सडक भासिएपछि तीन महिनादेखि सवारीसाधन सञ्चालन हुन सकेको छैन ।
दोभान–नुवाकोट सडकको पक्की पुल तरेर जाने सडक भासिएपछि आधा दर्जन बढी बस्तीमा सवारीसाधन सञ्चालनका साथै छोटो दुरीको सडक प्रयोग गर्न नपाएको स्थानीयले बताए । बन्चरे पहाडमा झण्डै ८० मिटर बढी सडक पहिरो गएर भासिएको छ । सडक भासिएपछि पुनः मर्मत नहुँदा तीन महिनादेखि सवारीसाधन चल्न नसकेको स्थानीय शेरजंग थापाले बताए । ‘तीन चार महिना अघिदेखि नै सडकमा सवारी साधन चल्न सकेको थिएन,’ उनले भने ।
पहिरोको बेसको ढुंगा माटो दोभान खोला बढेर बगाएपछि झन्डै १५ मिटर सडक भासिएको छ । सडक भासिएपछि दोभानका झ्याङ्ला, बगाहा, पाल्टाङ्गे, खुल्खुले, भुताहा, हरियालीगाउँ, हापुर, महापुर लगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । स्थानीयका अनुसार भासिएको स्थानमा पैदलसमेत हिँड्न नसकिने अवस्था छ । भर्याङ् राखेर आवतजावत गरेको स्थानीयले बताए । खोला ठूलो भएका बेला गाउँबाट झोलुङ्गेपुल तरेर खोलापारिको गाउँ गएर मात्र सानाठूला सवारीसाधन पाइन्थ्यो ।
मानिसको आवतजावतका साथै त्यस क्षेत्रका बासिन्दाले मृत्यु संस्कारको शव लैजानसमेत सास्ती व्यहोर्नु परेको छ । अघिल्लो वर्षदेखि नै तल्लो भागबाट सडक भासिने क्रम सुरु भएको थियो । सडक भासिन सुरु गरेपछि चार महिनाअघिदेखि नै सवारीसाधन चल्न सकेका थिएनन् । यस भेगका बासिन्दा वडा तथा गाउँपालिका कार्यालय साथै बजारका लागि बुटवल जान पछिल्लो समयमा खोला सानो भएपछि ह्युम पाइप राखेर वैकल्पिक सडक तयार भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले पहाडै धस्सिएको र यस विषयमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिलाई पत्र पठाइसकेको बताए । ‘चुरे र जंगल क्षेत्र भएकाले गाउँपालिकाले तत्काल केही गर्न नसकेको हो,’ उनले भने, ‘खोला सानो हुँदै गएपछि दोभान–कचल सडकको पासकुण्डदेखि केही तल खोलामा ह्युमपाइप राखेर वैकल्पिक सडक तयार गरिएको छ ।’
