नेपालगञ्ज — नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो ।
मंगलबार मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकल हललाई जरिवाना गराइएको छ ।
त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फालेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए ।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि 'नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोद कुमार गुप्तालाई जरिवाना तिराएर कारबाही गरिएको बोगटीले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली अनुगमनमा गएको थियो ।
यसअघि पनि एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँा जरिवाना गरेको थियो ।
त्यसअघि मंसिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवर्द्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभावी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए ।
