अर्घाखाँची — भुमिकास्थान नगरपालिका ५ र ६ को उदयठाटीमा देउसी-भैलो टोलीलाई ठक्कर दिने बसका चालक ३० वर्षीय केशव खड्कालाई जिल्ला अदालत अर्घाखाँचीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
कात्तिक १९ गते उदयठाटीमा सामूहिक देउसीभैलो खेलिरहेका कलाकारलाई प्युठान मल्लारानी गाउँपालिका-४ कसेरीका खड्काले चलाएको २४७१ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका-१ ढाकावाङकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको थियो । घटनापछि फरार रहेका चालक खड्कालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनलाई अर्घाखाँची अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
