प्यूठानमा सुन्तला उत्पादन बढ्यो

मंसिर १९, २०८१

शमशेरविक्रम जीसी

Orange production increased in Pyuthan

प्यूठान — प्यूठानमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्षको तुलनामा जिल्लामा सुन्तलाको उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयका अनुसार प्यूठानमा गत वर्ष २ हजार ३ सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष २ हजार ४ सय ६७ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । गत वर्षभन्दा यस वर्ष १ सय ३२ मेट्रिक टन बढी सुन्तला फलेको हो ।

सुन्तला उत्पादन हुने क्षेत्रफल पनि गत वर्षको भन्दा बढेको छ । गत वर्ष २ सय २९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकामा यस वर्ष २ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती भइरहेको कार्यालयका प्रमुख श्रेष्ठले बताए । 

यस्तै अमिला प्रजातिका फलफूलमध्ये मौसमको उत्पादन पनि बढेको छ । गत वर्ष १ सय ३८ हेक्टर क्षेत्रफलमा १ हजार २ सय ७५ मेट्रिक टन मौसम फलेकामा यस वर्ष १ सय ४० हेक्टर क्षेत्रफलमा १ हजार ३ सय ६५ मेट्रिक टन मौसम उत्पादन भएको कार्यालयले जनाएको छ । 

व्यावसायिक रुपमै किसानले फलफूलको खेती गर्न सुरु गरेकाले जिल्लामा सुन्तला र अमिला जातका फलफूलको उत्पादन बढेको श्रेष्ठले बताए । ‘तीनै तहका सरकारले फलफूलका बिरुवा निःशुल्क वितरण गर्छन्,’ उनले भने, ‘अबको केही वर्षमै प्यूठानमा यो संख्या दोब्बरले बढ्छ ।’  किसानले भर्खर भर्खर नयाँ बिरुवा पनि लगाएका छन् । यसले उत्पादन दिन केही समय लाग्ने उनले बताए । 

प्यूठानमा प्यूठान नगरपालिका–१० छेपाने, झिमरुक गाउँपालिकाको चुधारा र तुषारा क्षेत्रमा सुन्तला खेती गरिन्छ । यस बाहेकका अन्य केही स्थानमा पनि अन्य अमिला जातका फलफूलको व्यावसायिक खेती हुने गरेको छ ।

शमशेरविक्रम जीसी जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully