पाल्पामा मंसिर २२ र २३ मा सुन्तला महोत्सव हुने

मंसिर १९, २०८१

माधव अर्याल

Orange Festival will be held in Palpa on November 22 and 23

पाल्पा — मंसिर २२ र २३ गते पाल्पाको रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा दोस्रो सुन्तला महोत्सव हुने भएको छ । रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

सुन्तलाको प्रचारप्रसारका साथै बजारीकरण र विविधीकरणको जानकारी दिने उद्देश्यले महोत्सव गर्न लागेको बुधबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवर्द्धनमा सहयोग गर्न महोत्सव फलदायी हुने महोत्सव व्यवस्थापन समितिका संयोजक रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीका वडाध्यक्ष दानबहादुर कुँवरले बताए । 

महोत्सवले सुन्तला किसानबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताए । महोत्सवले सुन्तलाको उत्पादनमा वृद्धि गर्नुका साथै यसको बजार व्यवस्थापन, सुन्तलाबाट बन्ने परिकारको विविधीकरणका साथै बगैंचा व्यवस्थापनमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले महोत्सवले किसानको समस्या समाधान गर्नका लागि पहल गर्नुपर्ने र बजारीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिए ।  महोत्सवमा २५ स्टल रहने र त्यसमा किसानले उत्पादन गरेका सुन्तलाका साथै रोग, किरा व्यवस्थापनका लागि पनि पहल गरिने रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully