२५ हजार घूससहित रोल्पाका ट्राफिक इन्चार्ज अख्तियारको नियन्त्रणमा

मंसिर १८, २०८१

काशीराम डाँगी

Rolpa's traffic in-charge with 25,000 bribe is under the control of the authority

रोल्पा — सवारी साधन संचालनमा सहजीकरण गरिदिने भन्दै यातायात व्यवसायीबाट घूस लिएको आरोपमा रोल्पास्थित जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक  ललितबहादुर बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले सोमबार रोल्पा लिबाङमा रहेको आफ्नै निवासबाट नगद २५ हजारसहित नियन्त्रणमा लिएको हो। जिल्लामा संचालित साना र ठूला सवारी साधन संचालनमा सहजीकरण गर्दा पैसा लाग्ने भन्दै उनले व्यवसायीबाट पैसा लिएका थिए।

प्रहरी नायब निरीक्षक बुढाथोकी कार्यालय प्रमुख भएर करिब ६ महिनाअघि रोल्पा आएका थिए। सवारी साधन संचालनमा सहजीकरण गर्दा घूसस्वरुप पैसा र कुखुराका भाले माग्ने गरेको व्यवसायीको गुनासो छ। आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रनानि बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाए।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully