यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय
बुटवल — लुम्बिनी प्रदेश सरकारले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
सोमबार देउखुरीमा बसेको बैठकले यातायात क्षेत्रको पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
संशोधित कार्यविधिअनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, सम्बर्द्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्नेछ । प्रदेश, स्थानीय सरकार र किसानहरुको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तरगत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो । सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई छुट्टै मन्त्रालय बनाइएको छ । मन्त्रालय टुक्र्याइएपछि त्यसको जिम्मेवारी छुट्टै बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पन्थीले बताए ।
