सिचुआन प्रदेश सरकार र लुम्बिनीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

कार्तिक २८, २०८१

वीरेन्द्र केसी

Cooperation in tourism promotion between Sichuan Provincial Government and Lumbini

दाङ — लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने भएको छ । 

सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनका दुई प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन् । दुई देशका प्रदेश सरकारबीच भगेनी सम्बन्धलाई पुनःताजगी गर्दै सहयोग आदानप्रदान गरिने भएको भ्रमण दलका सदस्य एवं मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कुशल भुसालले बताए । 

चिनियाँ पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भित्र्याउने र प्रदेशका अन्य पर्यटकीय स्थलसम्म पुर्‍याउने लक्ष्य रहेको छ । प्रदेश सरकारले लुम्बिनीका १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि सारेको छ । भुसालका अनुसार चीनको छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल तथा छलफल भएको छ । 

चीनले पर्यटन क्षेत्रमा हासिल गरेका उपलब्धि र सिकाइलाई लुम्बिनी प्रदेश सरकारले पनि अनुशरण गरी पर्यटन प्रवर्द्धनका गतिविधि अगाडि बढाइने उनले बताए । लुम्बिनीमा गर्न लागिएको पर्यटन सर्किटलाई उपलब्धिमूलक बनाउन  चीनको सिकाइ, अनुभवबाट थप सहयोग पुग्ने मुख्यमन्त्री आचार्यको विश्वास छ ।  आचार्य सहितको ७ सदस्यीय टोलीले चीनको छेन्दु अन्तर्राष्ट्रिय रेलवे बन्दरगाहको समेत अवलोकन गरेको छ ।

वीरेन्द्र

Link copied successfully