गुल्मी — लालीगुराँस ढकमक्क फुलेका बेला जंगलको शोभा र सबैको आकर्षण हुन्छ । त्यही लालीगुराँसको रुख बुढो भई सुकेर ढलेपछि शोभा न सुगन्ध हुन्छ । प्राण गुमाएको सुकेको मुढोमा मूर्तिकारको कलाले काठले मात्र होइन, जंगलले नै नयाँ जीवन पाउँदो रहेछ । सग्ला रुखमा ढकमक्क फुलेका राताम्मे लालीगुराँसले होइन, सुकेकै काठले पनि हराभरा भएको छ यतिबेला गुल्मीको सत्यवती क्षेत्र ।
सत्यवती गाउँपालिका–३ स्थित धार्मिक आस्थाको केन्द्र सत्यवती डाँडाको जंगलमा ढलेका गुराँसका मुढामा मूर्तिकारले विभिन्न आकृति कुँदेका हुन् । ‘जंगलमा सुकेर ढलेका गुराँसमा आकर्षक मूर्तिहरू कोरिएको छ,’ प्राज्ञ एवं वरिष्ठ मूर्तिकार यामबहादुर थापाले भने, ‘जसमा सांस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएको छ ।’ मूर्तिकारहरूले समेटेको त्यही भावनाले अहिले सत्यवतीमा मान्छेहरूको मन तानेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सत्यवती क्षेत्र धार्मिक आस्थाको पनि केन्द्र हो ।
किंवदन्ती अनुसार त्यस क्षेत्रमा प्राचीन पाराकोट राज्यका राजा ऋतुवर्णकी श्रीमती सत्यवती आफ्नो राज्य गुमेपछि शिकार खेल्दै सत्यवती क्षेत्रमा आइ बसोबास गरेको र उनी मानिसको मनोकांक्षा पूरा गरिदिने तान्त्रिक क्षमताकी भएकाले मानिसहरू उनीबाट आशीर्वाद लिन जाने गरेको मान्यता छ । पछि राजाले सिकार खेल्ने क्रममा झुक्किएर धनुषले कानमा लागेपछि बहिरी भएको र वर माग्न आउनेहरूलाई कात्तिक शुक्ल पूर्णिमाको दिन चिच्याएर माग्नु भन्ने संकेत गरेकाले सोही दिन वर माग्नेहरूको ठूलो भीड मेलाकै रूपमा लाग्न थालेको कथन छ । पछि उनीहरू पाल्पाको कोलडाँडामा पुग्दा राजा ऋतुवर्णको देहान्त भएपछि सत्यवतीले उनको समाधिस्थल बनाएको र त्यहाँ पनि ठूलो मेला लाग्ने गरेको भनाइ छ । 
सत्यवतीमा अहिले पनि कात्तिक शुक्ल पूर्णिमाका दिन चिच्याएर वर माग्नेहरूको ठूलो मेला लाग्ने गर्छ । मनोकांक्षा पूरा भएपछि परेवा उडाउने तथा बलि दिने पनि चलन छ । अर्को किंवदन्ती अनुसार सत्यवती क्षेत्रमा सतिदेवीको बुढीऔंला र थाप्ला पतन भएको भन्ने मान्यता छ । मूर्तिकारहरूले सोही किंवदन्तीका पात्रलाई गुराँसका मुढामा कुँदेर जीवन्तता दिएका छन् ।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि १० दिने काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला २०८१ कात्तिक १० गते सम्पन्न भएकोथियो । जहाँ २२ जना मूर्तिकार तथा चित्रकार सहभागी थिए । उनीहरूले सत्यवती क्षेत्रका संस्कृति र सत्यवतीको किंवदन्ती झल्किने आकर्षक मूर्ति एवं सत्यवती क्षेत्रका मठमन्दिर तथा राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदानकर्ताको आकृति उतारेका छन् । 
धार्मिक आस्थाको केन्द्र सत्यवती प्राकृतिक रूपमा पनि उत्तिकै मनमोहक छ । नेपाल सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये सत्यवती क्षेत्र पनि पर्छ । सत्यवती भूमि यत्तिकै आकर्षक स्थान छ भने फागुन, चैतमा ढकमक्क फुलेका लालीगुराँसले निकै मनमोहक देखिन्छ । यहाँबाट एकैपटक दर्जनौं हिमशृंखलाहरूको अवलोकन गर्न सकिन्छ भने स्याङ्जा, पर्वत, बाग्लुङ तथा गुल्मी जिल्लाका धेरै गाउँ तथा फाँटहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
प्राज्ञ एवं वरिष्ठ मूर्तिकार भुवन थापाले जंगलमा ढलेका लालीगुराँसका काठलाई सदुपयोग गर्दै मूर्ति कार्यशाला गरिएको नेपालमै पहिलो हुन सक्ने बताए । सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्ति तथा चित्रकारले देखाएका ऊर्जा र सहयोगी भावनाको प्रशंसा गर्दै मूर्तिकारले प्राण भरेर सत्यवती क्षेत्रलाई जीवन दिएका मूर्तिहरूको र चित्रकारले सिर्जना गरेको चित्रहरूको संरक्षणमा गाउँपालिकालाई चुनौती थपिएको बताए । कार्यशाला अवधिमा नै हजारौंले अवलोकन गरेका छन् भने सत्यवतीमा अवलोकनका लागि जाने आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ ।
