पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेका युवा फूल किसान दामोदर घर्तीले १० रोपनी जग्गामा फूल खेती गरेका छन् । विभिन्न कारणले उनले लगाएको फूलका बिरुवा सुरुमै मरेपछि विषादि राखे । तर आधाभन्दा बढी फूलका बोट सुके । अहिले बचेका फूलहरूमा पनि रोग लागेको छ । अहिले त सुक्ने र बोटै ओइलाएर जाने समस्या देखिएको घर्तीले बताए ।
‘गाउँपालिकाबाट कृषि प्राविधिक आएर विषादि पनि सिफारिस गर्नुभयो,’ उनले भने, ‘तर समस्या समाधान नै भएन । जसले गर्दा मैले जग्गा भाडामा लिएर लगाएको फूलबाट नोक्सानी मात्रै बेहोर्नु परेको छ ।’
रामपुर नगरपालिका–४, देवीस्थानका दिलबहादुर थापाले लगाएको फूलमा पनि सुरुमा रोग देखा परेपछि विषादि राखे । केही भए पनि समस्या समाधान भयो । तर जति हुनुपर्ने हो, त्यो हुन सकेन । कृषि प्राविधिकले सिफारिस गरेअनुसारको विषादि प्रयोग पनि गरे । पूर्ण रूपमा भने समाधान हुन सकेन । ‘फूल खेतीका लागि कृषि प्राविधिकको सहयोग नपाइनु नै समस्या भयो,’ उनले भने, ‘यसबाट उत्पादनमा नै असर गरेको छ ।’ घर्ती र थापा मात्र होइन, तानसेन नगरपालिका–८, मदनपोखराका ध्रुव भण्डारीले लगाएको फूलमा पनि रोग लागेको छ । उनले लगाएका फूलहरू हुर्कन सकेनन् । कतिपय सुकेका छन् । फूल राम्रोसँग फुलेको छैन ।
विभिन्न जातका विषादी प्रयोग गरे पनि समस्या पूरै समाधान हुन सकेको छैन । यी केही उदाहरण मात्र हुन् । जिल्लामा फूल खेती गर्ने किसानका लागि कृषि प्राविधिक नै पाउन मुस्किल छ । स्थानीय तहमा बाली संरक्षण अधिकृत वा कृषिविज्ञ नहुने र कृषि ज्ञान केन्द्रका प्राविधिक समयमा नपुग्दा फूल खेती गर्नेले समस्या व्यहोर्नु परेको हो ।
चार वर्षअघि लुम्बिनी प्रदेश सरकारले तालिम संचालन गर्दा सहभागी भएपछि पाल्पाका कतिपय युवाले व्यावसायिक फूल खेती गर्न सुरु गरेका हुन् । तर उनीहरू यतिबेला भने निराश भएका छन् । अघिल्लो वर्ष फूल बिक्री नभएर निराश बने । यस वर्ष रोग, किराले हैरान पारेर समस्यामा छन् । 
व्यावसायिक खेती गर्न तम्सिएका युवालाई प्रोत्साहन गर्ने नीति स्थानीय तहमा नभएकाले पनि समस्या आएको हो । बगनासकाली गाउँपालिका–८, धारापानीका झविन्द्र बस्यालले व्यावसायिक फूल खेती गरेको दुई वर्ष भयो । ७ रोपनी क्षेत्रफलमा यस वर्ष फूल खेती गरेका छन् । तर कतैबाट सहयोग नपाउँदा भने निराशजस्तै छन् । ‘यसपटक पनि फूल बिकेको छैन,’ उनले भने, ‘तानसेनमा खासै बिक्री भएन । बुटवल लैजाने तयारी गरेको छु । त्यताको बजार के हुन्छ, थाहा छैन ।’ फूलको बिक्रीमा हरेक वर्ष समस्यै समस्या छ । फूल खेती लगाएपछि बिक्री गर्दासम्म धेरै समस्या बेहोर्नु परेको बस्यालको गुनासो छ ।
काम गर्ने खेताला नपाउने अर्को समस्या रहेको उनले बताए । फूलमा डढुवा रोगले सताए पनि कतैबाट सहयोग नपाएको उनले गुनासो गरे । रामपुर नगरपालिकाको दर्छास्थित जनविकास माविका विद्यार्थीले पनि फूल खेती गरेका छन् । अघिल्लो वर्ष लक्ष्मीपूजासम्म राम्रो भाउ पाएपछि त्यसपछि आधा मूल्यमा बिक्री गर्न नसक्दा यस वर्ष फूल उत्पादनमा समेत कमी भएको हो । उत्पादन कमी गरे पनि बिक्रीका लागि स्थानीय सरकारबाट समन्वय नभएको फूल खेती गर्ने किसानको गुनासो छ ।
अधिकांश फूल खेतीमा लागेका युवाले मौसमी तथा बेमौसमी फूल खेती गर्दै आएका छन् । तर अघिल्लो वर्ष बजारमा फूल र माला बिक्री गर्न समस्या भएपछि यस वर्ष ४० प्रतिशत कम मात्र फूल लगाएको रामपुर नगरपालिका–४, देवीस्थानका दिलबहादुरले बताए । फूल खेती गरेर वार्षिक ६ देखि १० लाख कमाइ गर्न सकिने भए पनि प्राविधिक ज्ञानको अभावले हरेक पटक पिरोलिन परेको उनको गुनासो छ । ‘हामीलाई प्राविधिक सेवा उपलब्ध गराउने हो भने व्यावसायिक फूल खेती गर्न दुःख छैन,’ उनले भने, ‘रामपुर क्षेत्रलाई धान्ने गरी फूल उत्पादन गर्न सकिन्छ ।’
रुप्सेका किसान घर्तीले फूलमा घामपानी नमिल्दा रोगले सताएको बताए । आधाभन्दा बढी बिरुवा मरेको उनले बताए । अहिले फूल सुक्दै जाने समस्या देखिएको छ । रोग निदानका लागि स्थानीय सरकारले सहयोग गरे पनि समाधान हुन नसकेको उनको गुनासो छ । व्यावसायिक फूल खेती गरेका उनलाई अघिल्लो वर्षजस्तै यस वर्ष पनि स्थानीय बजार अभाव हुने हो कि भन्ने चिन्ता छ । चार वर्षदेखि व्यावसायिक फूल खेती गरेर उत्साहित भए पनि समयमा बजार नपाउँदा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।
अर्कोतर्फ बीउ छनोटमा प्राविधिक सहयोग पाउन मुस्किल छ । फूल खेती गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदानसमेत प्रशस्त छैन । भारतीय फूलमाला सस्तोमा भित्रिने र यसले तराई हुँदै पहाडसम्म पुग्ने भएकाले किसान मारमा परेका हुन् । स्थानीय सरकारले पनि फूलखेती गर्ने किसानलाई प्रोत्साहनको विशेष कार्यक्रम ल्याएका छैनन् ।
पाल्पाका १० स्थानीय तहमध्ये रामपुर नगरपालिकाले नगरक्षेत्रमा दसैंअघि नै प्लास्टिकका फूल र माला निषेध गरेको छ । जसले गर्दा फूल खेती गरेका रामपुर क्षेत्रका किसान यस वर्षको तिहारमा खुसी छन् ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘हामीले स्थानीय किसानलाई मर्का नपरोस् भनेर नै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हौं,’ उनले भने, ‘यसबाट किसानले उत्पादन गरेका सयपत्रीलाई नै प्रयोगमा ल्याउन सकियोस् भन्ने नै हो ।’
