गुल्मीको टिमुरे तालमा बढ्दै आन्तरिक पर्यटक

नेपाल पर्यटन बोर्डले ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेपछि टिमुरेका स्थानीय उत्साहित

आश्विन २५, २०८१

घनश्याम गौतम

Domestic tourists growing at Timure lake in Gulmi

बुटवल — गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको सिफारिसमा नेपाल पर्यटन बोर्डले ४५ औं विश्व पर्यटन दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गुल्मीको चन्द्रकोट गाउँपालिका–४ को टिमुरे, संखुवासभाको सभापोखरी गाउँपालिका–३ त्रिवेणी बजारस्थित सभापोखरी र धादिङ बेनीघाट रोलाङ गाउँपालिका–८ चैलिङ गाउँस्थित चैलिङ सामुदायिक होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको थियो ।

आफैंले संरक्षण गरेको गुल्मीको टिमुरे क्षेत्र र ‘टिमुरे सामुदायिक होमस्टे’ सहित देशका तीन ग्रामीण स्थानलाई नयाँ ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा सरकारले घोषणा गरेपछि स्थानीय उत्साहित भएका छन् । गुल्मीको ‘टिमुरे सामुदायिक होमस्टे’ जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । समुन्द्री सतहबाट १९५६ मिटर उचाइमा रहेको मनोरम प्राकृतिक ताल र त्यसको नजिकैको मगरबस्तीसहितको गाउँलाई स्थानीय सरकारले २०७६ सालमा सामुदायिक होमस्टे घोषणा गरेर पर्यटन प्रवर्धन गर्दै आइरहेको थियो ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले सरकारले पर्यटन बोर्ड र पर्यटन प्रवर्धन मञ्चको सहकार्यमा घोषणा गरेको वर्ष पर्यटन गाउँमा चालु वर्षदेखि टिमुरे सामुदायिक होमस्टेले आबद्धता पाएको बताए । ‘नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय गन्तव्यका रूपमा टिमुरे क्षेत्रलाई घोषणा गरेपछि टिमुरेमा आन्तरिक पर्यटक बढ्न थालेका छन्,’ उनले भने, ‘टिमुरे क्षेत्र गुल्मी जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ सरकारले गरेको घोषणाले लामो समयदेखि ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्धन गर्न खोलिएको सामुदायिक होमस्टेलाई पनि उत्साहित, क्षमतावान र परिष्कृत बनाउने उनले बताए । 

Domestic tourists growing at Timure lake in Gulmiटिमुरे सामुदायिक होमस्टेमा पुग्ने आगन्तुकहरूलाई वास्तविक नेपाली ग्रामीण जीवनशैलीको रहनसहन, खानपान र सांस्कृतिक कला संस्कृतिसँग जोड्दै आएको र सरकारको घोषणापछि ग्रामीण जीवनशैली सहरसँग पनि जोडिने होमस्टे सञ्चालक युवा सुशील पुनले बताए । ‘दसैंको बिदाले पनि होला पछिल्लो १५ दिनमा १ सय बढी नयाँ पर्यटक टिमुरेमा आएका छन्,’ उनले भने, ‘नेपाल पर्यटन बोर्डले घोषणा गरेको नयाँ ग्रामीण पर्यटकीय गन्तव्यको सन्देशले हामीलाई पनि थप उत्साहित र जिम्मेवार बनाएको छ ।’ 

गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरबाट झन्डै ७ किलोमिटरको दूरीमा रहेको टिमुरे ताल २४०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । पानीको कुनै मुहान र स्रोत नभएको डाँडोमा १२ महिना एकै आकार र सतहमा रहने पानीले धेरैको ध्यान तानेको छ । उच्च भागमा रहेको तालको किनारबाट गुल्मी जिल्लाका विभिन्न क्षेत्रको दृश्यावलोकनसँगै विभिन्न हिमश्रृङखलाहरु पनि देखिन्छन् । टिमुरे ताल जिल्लाकै आर्कषक पर्यटकीय गन्तव्य बन्ने क्रममा रहेको चन्द्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष एवं टिमुरे सामुदायिक होमस्टेका सल्लाहकार बलबहादुर बस्नेतले बताए । ‘टिमुरे प्रकृतिनिर्मित मनोरम पर्यटकीय स्थल हो,’ उनले भने, ‘पर्यावरणको क्षेत्रमा काम गर्नेहरूका लागि पनि टिमुरे ताल अनुसन्धानको विषय बन्न सक्छ ।’ तालको आसपासमा कुनै घना जंगल छैन् । बरु रित्ता डाँडा मात्र छन् । पानीका मुहान छैनन् । अर्को कुनै स्थानबाट पानी आउने स्रोत पनि छैन । तर, २४ सय वर्गमिटरमा फैलिएको तालमा झन्डै ४ फिट गहिराइसम्मको पानी सधैँ रहने भएकाले पनि त्यो कसरी सम्भव भएको छ भन्ने अनुसन्धानको विषय बनेको उनले बताए । 

टिमुरे पर्यटकीय गन्तव्यको सूचीमा परेसँगै चन्द्रकोट गाउँपालिकाभित्र रहेका ऐतिहासिक चन्द्रकोट मन्दिर, दिब्रुङ शिवालय, चत्रेश्वर, कौडे सत्यवती, अर्जेवा झरना, झुलेनी पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय गन्तव्यहरूको पनि प्रवर्धन हुने पालिका अध्यक्ष केसीले बताए । गाउँपालिकाले चन्द्रकोटको पर्यटकीय प्रवर्धनका लागि चालु आवमा १ करोड ५० लाख रुपैंयाँ विनियोजन गरेको छ । त्यसले पर्यटन क्षेत्रको विकासका माध्यमबाट स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै पर्यटनका माध्यमबाट रोजगारी र आर्थिक समृद्धिका आधार सिर्जना गर्ने गरी स्थानीय सरकारले योजना गराएको गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully