हरेक वर्ष सरकारको मुख्य प्राथमिकतामा ३ सय सडक मात्र रहने
बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेशमा निर्माणाधिन सडकहरुको प्राथमिकता निर्धारण र निर्माणमा गुणस्तरीयता एवं सडकको प्रभावकारिता बढाउन प्रादेशिक सडक सञ्जाल गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन तहका सरकारबाट निर्माणाधीन ३४ सय बढी सडक छन् । प्रदेश सरकारले ती सडकलाई पहिलो चरणमा बढीमा २ हजारमा झार्ने छ । त्यसपछि सडको प्राथमिकता, महत्व र उपयोगिताका आधारमा बजेट बिनियोजन गरेर सडकको स्तरोन्नति गर्ने सरकारको तयारी छ । त्यही अनुरुप प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका ८७ जना प्रदेश सभा सदस्यसँग सडक गुरुयोजनाका लागि सुझाव संकलन गरेको छ ।
१२ वटै जिल्लाका प्रदेश सभा सदस्यहरुसँगबाट जिल्ला जिल्लामा रहेका सडकहरुको विवरण संकलन गर्ने, निर्माणाधीन अवस्थाको विश्लेषण गर्ने र महत्व एवं आवश्यकता पहिचान गर्ने पहिलो चरणको काम सकिएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
‘पहिलो चरणमा हरेक जिल्लामा सडक कति छन्, तिनिहरुको अवस्था के कस्तो छ भन्ने हरेक जिल्लका प्रदेश सभा सदस्यसहितको छलफलबाट पहिचान गरेका छौं,’ मन्त्री ढकालले भने, ‘अब जिल्ला र स्थानीय तहका सरोकारवाला, सडक डिभिजन पूर्वाधार कार्यालय लगायतसँगको छलफलपछि सडकको मापदण्ड र त्यसले दिने प्रतिफल अनि लागतको विषयमा छलफल गर्दैछौं ।’
उनले अहिले पनि प्रदेशमा तीन तहका सरकारबाट लगानी भएर निर्माणाधीन र अलपत्र परेका ३४ सय बढी सडक रहेको र सबैमा न्यून बजेट बिनियोजन हुने परिपाटीले कुनै पनि सडक सम्पन्न र गुणस्तरीय हुन नसकेकाले सडक गुरु योजना बनाएर कार्यान्वयन गर्न थालिएको उनले बताए ।
प्रदेश सडक गुरु योजना निर्माणपछि लुम्बिनी प्रदेशमा प्रदेश लोकमार्ग २० भन्दा कम, प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा बढीमा ५ वटा मात्र सडक बनाउने, लोकमार्ग र प्रदेश सडक गरी बढीमा ३ सय सडक मात्र सरकारको प्राथमिकताका सडक बनाउने गरी गुरु योजनाले समेट्ने गरी छलफल अघि बढेको मन्त्री ढकालले बताए ।
अहिले सडकमा ५ लाखदेखि २० करोडसम्म रकम बिनियोजन गरिएको छ । ‘गुरुयोजना निर्माणपछि एक सडकमा कम्तिमा ५० लाख देखि ५० करोडसम्म रकम बिनियोजनको मापदण्ड बनाउने सरकारको तयारी छ,’ उनले भने, ‘त्यसले सडक गुणस्तरीय बन्नेछ र त्यसको उपयोगिता पनि हुनेछ ।’
आव २०७६/०७७ मा लुम्बिनी प्रदेशका तत्कालीन भौतिक पूर्वाधारविकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा सडकहरुको बर्गिकरण गर्न प्रदेश सडक गुरुयोजनाको प्रक्रिया अघि बढाएका थिए । त्यति बेलापनि प्रदेश सभा सदस्यहरुसँग छलफल गरेर सुझाव संकलन सुरु गरिएको थियो । तर, सरकार परिवर्तन भएपछि त्यसपछिका मन्त्रीहरुले सडक गुरुयोजनालाई प्राथमिकता दिएनन् ।
मन्त्रालयले सडक गुरु योजनाको छलफलका लागि बाँके, बर्दियाका प्रदेश सभासदस्यहरुसँग नेपालगञ्जमा, रुकुम पूर्व, रोल्पा, प्यूठान, कपिलवस्तु र दाङका प्रदेश सभा सदस्यहरुसँग दाङमा, रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासीका प्रदेश सभा सस्यहरुसँग बुटवलमा मंगलबार र बुधबार छलफल गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले बताए । छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले प्रदेश यातायात ऐनको आधारमा गुरुयोजना निर्माण गरिनुपर्ने, सडक मर्मत संहारको जिम्मेवारीसमेत प्रदेशले लिनुपर्ने सुझाव दिएका छन् ।
छलफलमा आएका सुझावहरूलाई आधार मानेर गुरुयोजनालाई दोस्रो चरणको छलफलमा लैजान लागिएको सचिव पाण्डेले बताए ।
‘दोस्रो चरणको छलफलपछि प्रदेशको लोकमार्ग कुन कुन हुने र प्रदेश सडक कुन कुन हुने भन्ने टुंगो लाग्नेछ,’ उनले भने, ‘त्यही प्राथमिकताका आधारमा बजेट बिनियोजन भएर सडक निर्माण र स्तरोन्नति हुन्छन् ।’ अब लुम्बिनी प्रदेशमा अति आवश्यक अवस्थामा बाहेक सडकको नयाँ ट्रयाक खोल्ने काम बन्द गरिने उनले बताए । लुम्बिनी प्रदेश सरकारले २०७७ सालमै सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । अहिले त्यही ऐनलाई कार्यान्वयन गर्ने गरी सडक गुरु योजना बनाएर काम सुरु गर्न लागिएको मन्त्री ढकालले बताए ।
