बर्दियामा ८ जनालाई डेंगी, २७ जनालाई स्क्रब टाइफसको संक्रमण

भाद्र ५, २०८१

कमल पन्थी

Dengue 8 people, scrub typhus infection 27 people in Bardia

बर्दिया — जिल्लामा डेंगी र स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्ला अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षण गर्दा आठ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जिल्लामा साउन यता डेंगी संक्रमितको संख्या एक दर्जनभन्दा बढी रहेको बताए । 

जिल्ला अस्पतालमा रगत परीक्षण गराउने १४७ जनामध्ये ८ जनामा डेंगीको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुभास पाण्डेयले जानकारी दिए । उनका अनुसार २ सय ५२ जनाको रगत परीक्षण गराउँदा २७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । 

'यो तथ्यांक जिल्ला अस्पतालको मात्रै हो । जिल्लाभर यसवर्ष डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्,' डा पाण्डेयले भने, 'संक्रमितलाई १ सय ४ डिग्रीसम्म ज्वरो आउने, रिंगटा लाग्ने, आँखाको गेडी दुःख्ने, श्वास प्रश्वासमा समस्या आउने, बेहोस हुने जस्ता लक्षण देखिएका छन् ।'

जिल्ला अस्पतालमा आइसीयु नभएका कारण जटिल खाले बिरामीलाई उपचारका लागि बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । 

  

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully