लुम्बिनीका मुख्यमन्त्री आचार्य बने एमाले संसदीय दलको नेता

उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा चौधरी र सचेतकमा रोका चयन

भाद्र १, २०८१

घनश्याम गौतम

Lumbini Chief Minister Acharya became the leader of the UML parliamentary party

बुटवल — नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्यलाई सर्वसम्मत चयन गरेको छ । संसदीय दलको शनिवार बुटवलमा बसेको बैठकले दलको नेतामा हाल मुख्यमन्त्रीसमेत रहेका आचार्यलाई सर्वसम्मत चयन गरेको हो । आचार्य यसअघि दलको उपनेता थिए । 

दलको उपनेता आचार्यलाई केन्द्रीय नेतृत्वबाट मुख्यमन्त्री बनाएपछि तत्काल दलको नेता रहेका पूर्व मुख्यमन्त्री लीला गिरी असन्तुष्ट बनेका थिए । गिरीले साउन ७ गते आचार्य मुख्यमन्त्री नियुक्त भएकै दिन दलको नेताबाट राजीनामा दिएका थिए ।

शनिबार बुटवलमा बसेको २६ जना प्रदेश सभा सदस्यको सर्वसम्मत निर्णयबाट आचार्यलाई दलको नेता चयन गरेको हो। दलको उपनेता भोजप्रसाद श्रेष्ठ चयन भएका छन् भने प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका चयन भएका छन् ।

यस अघि प्रमुख सचेतकमा रहेका चौधरीले पनि राजीनामा दिएका थिए । उनको राजीनामा अस्वीकृत भएको छ । त्यस्तै, सचेतक रहेकी सीता शर्मा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेपछि सचेतकमा रोकालाई चयन गरिएको हो । 

बैठकले मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले एकमतका साथ मुख्यमन्त्रीमा आचार्यलाई मत दिन सम्पूर्ण एमाले प्रदेश सभा सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय भएको बताए । बैठकमा पूर्व दल नेता गिरी भने अनुपस्थित थिए । 

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्यले साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेमा दल नेता चयन हुन नसकेको र कांग्रेसभित्र मन्त्री छनोटको किचलोले सरकारले पूर्णता पाउन सकेको छैन् । त्यसले मुख्यमन्त्री आचार्यलाई पनि विश्वासको मत लिन ढिलाई भईरहेको छ ।

अहिले मुख्यमन्त्रीसहित लुम्बिनीमा एमालेका ५ र कांग्रेसका ४ मन्त्री छन् । कांग्रेसले थप एक मन्त्री सिफारिस गर्न बाँकी छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको छ । तर, सरकारलाई समर्थन गरेका लोसपा, जसपा र नागरिक उन्मुक्ति तिनवटै दलले मन्त्रालयमा दावी गरेको र दुई दललाई मात्र रहेकाले एमाले कांग्रेस अप्ठ्यारोमा छन् ।

स्रोतका अनुसार लोसपा र जसपालाई एक/एक मन्त्रालय दिएर नागरिक उन्मुक्तिलाई राज्यमन्त्री वा अन्य नियुक्तिमा मिलाउने प्रयास दुई ठुला दलले गरेका छन् । लुम्बिनीमा सरकारलाई समर्थन गर्ने दलबाट नागरिक उन्मुक्ति पार्टीका ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १ जना प्रदेश सभा सदस्य छन् ।

त्यस्तै प्रतिपक्षमा रहेका माओवादीका १०, राप्रपाका ४, नेकपा एकिकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र एक/एक प्रदेश सभा सदस्य छन् । लुम्बिनी ८७ सदस्यीय प्रदेशसभामा छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully