कपिलवस्तु — बर्सेनि कटान बढाउँदै नदी आँगनसम्म पुग्न लागेको छ । दशगजासँगै जोडिएकाले पछाडि सर्ने ठाउँ छैन । बर्सेनि खेतीयोग्य जग्गा कटान गर्दै घरै छुन थाल्दा तनावमा छन् कृष्णनगर नगरपालिका–१२ भदुई गाउँका ६४ वर्षीय रामसागर चौधरी । ‘अब सर्ने ठाउँ छैन,’ उनले भने, ‘घरसँग सटेर पछाडि दशगजा छ । अगाडि नदी छ । बादल मडारिएर गड्याङगुडुङ हुनासाथ भगवान्को नाम जपेर बस्नु परेको छ ।’
१५ वर्षमा २२ बिघा खेत नदीले कटान गर्दा आफू सुकुम्बासी हुन थालेको उनले बताए । उनीजस्तै भदुईकै ईस्लु उपाध्यायले १८ वर्षमा १७ बिघा खेत नदीले कटान गरेपछि भोक–प्यास हराएको बताए । ‘अब ३ बिघा मात्र बाँकी छ, ७ जना परिवारको चुलोचौको कसरी गर्ने भन्ने चिन्ता छ,’ उनले भने ।
भारतीय सीमा हुँदै बगेको अर्रा (स्थानीयले चरङ्हवा भन्ने) नदीले बर्सेनि खेतीयोग्य कटान गर्दै लगेपछि स्थानीय समस्यामा परेका छन् । भदुई, मानपुर, हथियागढ र जोशीडिहवा गरी चार गाउँका ७५ घरको खेतीयोग्य जग्गा अर्रा नदीले बर्सेनि कटान गर्दै लगेको छ । यसले नदी गाउँ नजिकै पुग्न थालेको छ । गत असार तेस्रो सातायताको बाढीले स्थानीयलाई समस्यामा पारेको हो । हरेक वर्ष खेतीयोग्य जग्गा बगरमा परिणत हुँदै जाँदा उनीहरूको उब्जनी घट्दै गएको छ । ‘आफ्नै खेतको धान र गहुँ घरगर्जोर् चलाउने माध्यम हो,’ चौधरीले भने, ‘जग्गा घट्दै गयो । हातमुख जोर्न समस्या होला जस्तो छ ।’
भदुई गाउँ पुग्ने बाटो नदीले बगाएपछि खेत मासेर बनाइएको गोरेटो बाटो ।
नदीको कटानबाट सबैभन्दा बढी प्रभावित भदुई गाउँ छ । यो गाउँमा भएका १७ घरलाई तीनतिरबाट नदीले घेरेको छ । खुला भएको दक्षिणतिर पनि दशगजा जोडिएको छ । पूर्व र पश्चिमतिर गाउँका धेरै जनाको खेत नदीमा मिलिसकेको छ । अर्को गाउँ मानपुरमा ३५ घर छन् । यो गाउँ उत्तर र पूर्वबाट कटानको चपेटामा छ । त्यस्तै १५ घर रहेको हथियागढ गाउँ पनि बर्सेनि कटानले समस्यामा परेको छ । यो गाउँलाई उत्तर र पश्चिमबाट कटान गरिरहेको छ । त्यस्तै ७ घर रहेको जोशीडिहवा गाउँलाई पनि उत्तरबाट कटान गरेर बस्तीनजिकै नदी पुगेको छ । यी ४ वटै गाउँको बर्सेनि ५० देखि एक सय बिघा खेत कटान हुँदै आएको मानपुरका बलिराम मुराउले बताए । ‘यसको असर अन्न उत्पादनमा पर्छ,’ उनले भने, ‘अब घर गर्जो गर्न गाह्रो हुन्छ ।’
जिल्लामै पिछडिएको क्षेत्रमा पर्ने यी गाउँमा रोजगारीको माध्यम छैन । बस्तीभरि १० कक्षा पास गरेका पाउन मुस्किल छ । सरकारी जागिरे एक/दुई जना मात्र छन् । यस्तो ठाउँको आयस्रोतको माध्यम खेतीपाती नै हो तर खेतीयोग्य जग्गा बर्सेनि कटान हुँदा गाउँलेका दुःख सुरु भएको भदुईका जनकराम चौधरीले बताए । भदुई गाउँलाई नदीले छुन ७० मिटर मात्र बाँकी छ । अन्य तीन गाउँबाट भने नदी सटेरै बगेको छ । ‘गाउँमा पुग्ने बाटोघाटोको पनि राम्रो व्यवस्था छैन,’ उनले भने, ‘नदीले गर्दा गाउँमा गाडी पुग्दैन । वर्षाका बेला आवतजावत गर्न निकै गाह्रो हुन्छ ।’ नदी बढेर बर्खाका बेला नेपाली बजार कृष्णनगर पुग्ने बाटो पनि हिलाम्य हुन्छ । वर्षाका ३/४ महिना सीमापारि १३ किमि पश्चिममा पर्ने भारतीय बजार मजगवा र पचपेडवाको भर पर्नुपर्छ । घर गर्जो टार्न सरसमान खरिद वा उपचार गर्न त्यहीं पुग्नुपर्ने बाध्यता रहेको जनकरामले सुनाए ।
नदी कटानको चपेटामा परेको भदुई गाउँ ।
यस वर्षको बाढीले भदुई र मानपुरका कृषकको धान रोपेको डेढ सय बिघा खेत कटान गरेको छ । मानपुरका वजिर पठानले १० वर्षमा आफ्नो २९ बिघा खेत नदीले कटान गरेको र अब ३ बिघा मात्र बाँकी रहेको बताए । ‘खेतमै मिहिनेत गरेर घर व्यवहार गर्छु भनेको थिएँ,’ भदुईका रामसागर चौधरीले भने, ‘१० बिघामा एक लाख बढी खर्च गरेर धान लगाएको थिएँ, सबै बगाएर लगेको छ । अब के कसो गर्ने दिमागले काम गर्न छाडेको छ ।’
हालैको बाढीले मानपुर–भदुई जोड्ने ४ मिटर चौडा ३ सय मिटर लामो ग्राभेल बाटो बगाएपछि स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ ।
गरिब, बिपन्न र पछाडि परेको ठाउँ हुँदा जनप्रतिनिधि पनि खासै पुग्दैनन् । यी चारै गाउँबाट नगरपालिकामा प्रतिनिधित्व गर्ने एक जना जनप्रतिनिधि पनि छैनन् । नगरपालिकाका अन्य जनप्रतिनिधि पनि नआउँदा आफ्ना समस्या सम्बोधन हुन नसेको स्थानीय गुनासो गर्छन् । तर, यसपटक बाढीको मारमा परेको गुनासो सुन्न नगर प्रमुख रजतप्रताप शाह पुगेका थिए । ‘नदी कटानले स्थानीय निकै पीडित छन् । नगरको प्रयासले मात्र नियन्त्रण सम्भव देखिँदैन,’ नगर प्रमुख शाहले भने, ‘प्रदेश र संघ सरकारसित मिलेर काम गर्न पहल थालेका छौं ।’
