स्थगित भएका ८५ मध्ये १४ को निर्वाचन मिति तोकियो

सबै केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने

वैशाख ३१, २०७९

मकर श्रेष्ठ

काठमाडौँ — राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मध्ये १४ मतदान केन्द्रको पुन: मतदान हुने मिति तय भए पनि अन्यको अझै अनिश्चित बनेको छ । 

पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिको बारेमा जानकारी गराएको छ । निर्वाचन आयोगका अनुसार स्थगित भएका सबै मतदान केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको ‘क’ र ‘ख’ मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, पचाल झरना, बझाङको जयपृथ्वी नगरपालिका नगरपालिका–७ सुनिपिपलचौर मावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन आइतबार हुदैछ । 

आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि ‘क’, ‘ख’, ‘ग’ मा सोमबार  निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा सोमबार निर्वाचन हुँदैछ । कांग्रेस र माओवादी केन्द्रको कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

कञ्चनपुरको पुनर्वास विजय माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको केदारस्यू गाउपालिका ४  जगनाथ माविको ‘क’ र ‘ख’ मतदान केन्द्र,  बझाङको सुर्मा गाउँपालिका ७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा ८ को आधाबगर माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन सोमबारलाई तय भएको आयोगले जनाएको छ । आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो । 

रौतहटको फतुवाविजयपुर नगरपालिका–७ स्वास्थ्यचौकी ‘क’ र ‘ख’ मतदान केन्द्र, देवाही गोनाही नगरपालिका २ जनप्रिय प्रावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन जेठ ३ मा गर्न प्रस्ताव आएको आयोगले जनाएको छ । 

जनप्रियमा निर्वाचन सामग्री, मतपत्र नपुग्ने भएकोले मिति यकिन भइसकेको छैन ।  यस्तै काभ्रेको पाँचखाल नगरपालिका १३ श्रीराम मावि कोशीदेखाको ‘क’ र ‘ख’ मतदान केन्द्रमा  मंगलबार निर्वाचन हुने भएको छ ।

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully