यौन दुर्व्यवहारको प्रश्नमा स्थापितको उत्तर- 'विवादमा आएन भने केशव स्थापित नै हुँदैन'- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहारको प्रश्नमा स्थापितको उत्तर- 'विवादमा आएन भने केशव स्थापित नै हुँदैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको बताउँदै उनले आफूले चुनाव जितिसकेको घोषणा हुन मतदान दिन कुर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

उम्मेदवारी दर्तापछि राष्ट्रिय सभागृहको प्रांगणमा पत्रकारहरुसँगको कुराकानीमा उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि उपस्थित थिइन् । पत्रकारले यौन दुर्व्यवहार आरोपका बारेमा गरेको प्रश्नमा भने उनले हल्का टिप्पणी गर्दै आरोप लगाउने महिलाहरूलाई पागलको संज्ञा दिएका थिए ।

'आजकल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन,' उनले भने, 'विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ।'

विवादमा मुछिएपछि वाग्मती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगरेको’ भन्दै हटाइएका थिए ।

काठमाडौं महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लगाइएपछि उनी विवादमा तानिएका थिए । महानगरपालिकाकी पूर्व कर्मचारी र एक पत्रकारले स्थापितले आफूहरूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए । स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए ।

यस्तै उनले काठमाडौंमा अहिले देखिकामध्ये अधिकांश पूर्वाधार आफू मेयर हुँदा खडा भएकाले गर्दा पनि काठमाडौंवासीले आफूलाई भोट दिने दाबी गरेका थिए ।

उपमेयरकी उम्मेदवार सुनिताले भने आफू महिला र युवाको प्रतिनिधी भएकाले मत दिनुपर्ने दाबी पेस गरेकी थिइन् । केशव स्थापित अनुभवी उम्मेदवार भएकैले आफूले उपमेयरको पदमा चित्ता बुझाएको बताउँदै उनले एमालेसँग आफ्नो विचार मिलेकैले सो पार्टीमा लागेको बताइन् ।

प्रकाशित : वैशाख १२, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्

'गेम इज ओभर' तर छाप लगाउन प्रतीक्षा गर्नुपर्‍यो : स्थापित

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का मेयर उम्मेदवार केशव स्थापितले आफू गठबन्धनभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन् । आफूले उम्मेदवारी दर्ता गरेसँगै चुनावको खेल सकिएको दाबी गर्दै उनले मतदानको छाप लगाउन मात्रै कुर्नुपर्ने बताए । 

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सोमबार स्थापितले भने, 'गेम इज ओभर तर छाप लगाउन प्रतीक्षा त गर्नुपर्‍यो ।'

कांग्रेसको स्थायी भोट ४५ हजार, माओवादीको ७ हजार र ६ हजारजति एकीकृत समाजवादीको हुनसक्ने भन्दै स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याउने दाबी गरे । उनले २०५४ सालमा नै मेयरमा ८४ हजार मत ल्याएर विजयी भएको भन्दै यसपटक पनि आफूले नै जित्ने दाबी गरे ।

'म प्रमाणित नभएको बेला, खेलकदमा अलिकति काम गरेको बेला जनताले ८४ हजार ६ सय भोट दिएको होइन ?,' उनले विगतमा आफूले राम्रो काम गरेको भन्दै थपे, 'कुनै प्रतिस्पर्धा बाँकी छ र भन्या ?'

आफू मेयर भएको बेला विश्वमा चौथो सफल मेयर भएको स्थापितको भनाइ थियो ।

त्यस्तै एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू युवाको प्रतिनिधि भएको बताइन् । उनले संस्कृति र समाजको क्षेत्रमा काम गर्ने बताइन् । स्थापित जस्तो व्यक्तिसँग उम्मेदवार बन्न पाउँदा खुसी लागेको डंगोलको भनाइ थियो । 'अनुभवी, विज्ञको विज्ञता र युवाको जोश हुनुपर्छ अनि बल्ल काठटमाडौं महानगर बन्छ,' उनले भनिन् ।

एमालेको घोषणापत्रमा युवाहरूको प्रतिबद्धता समेटिएको डंगोलको भनाइ थियो ।

प्रकाशित : वैशाख १२, २०७९ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×