पोखरा महानगर : 'नयाँ पार्टीलाई ठूलो भाग'

नेकपा (एस) रुख चिह्नबाट नलडे गठबन्धन बहिष्कार गर्ने कांग्रेस कार्यकर्ताको चेतावनी
दीपक परियार

पोखरा — पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय गरेसँगै कास्कीमा कांग्रेस कार्यकर्ताले गठबन्धन बहिष्कारको चेतावनी दिएका छन् । कांग्रेसका नेता कार्यकर्ताले रुख चिह्नबाहेक अन्त भोट हाल्न नसक्ने बताएका छन् । पोखरा महानगर समतिले त मेयर आफूले नै पाउनुपर्ने भन्दै संर्घषका कार्यक्रम सुरु गरेको छ । समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । 

पोखरा महानगर : 'नयाँ पार्टीलाई ठूलो भाग'

पोखरा–९ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामराज लामिछानेले गठबन्धनको यो निर्णयले भावी दिनमा कांग्रेसको संगठन कमजोर बनाउने बताउँछन् । महानगरमा दलका सचेतक समेत रहेका उनले रुखमा भोट हाल्न बानी परेकालाई अन्य चिह्नमा भोट हाल भन्न सहज नहुने बताए । ‘कांग्रेसका केही प्रतिबद्ध कार्यकर्ताले पार्टीको निर्णय मान्लान्,’ उनले भने, ‘बाँकीले आफ्नो उम्मेदवारलाई मात्रै भोट हाल्ने अरु चिह्न खाली राख्ने स्थिति हुन्छ ।’

कांग्रेसका महानगर सभापति सुरेन्द्र बिजुक्छेले पार्टीको निर्णयप्रति आफ्नो घोर भर्त्सना रहेको बताए । ‘६० हजार मतसंख्या रहेको पार्टीले ७–८ हजार मतसंख्या रहेको पार्टीलाई कसरी भोट हाल्ने,’ उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने बुधबार निर्णय गर्छौं ।’ महानगर कमिटीले सोमबार नै विज्ञप्ति प्रकाशित गरी एकीकृत समाजवादीले हैसियतभन्दा ठूलो भाग खोजेको उल्लेख गर्दै कांग्रेसले पोखरा नछोड्ने बताएको थियो ।

त्यसअघि सोमबार नै कास्कीमा पाँच दलीय गठबन्धनको बैठक चलिरहँदा कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकालले नेकपा (एस) लाई सँगै लैजान नसकिने विज्ञप्ति निकालेका थिए । नेकपा एसले अस्वाभाविक दाबीको कारण कास्कीमा निष्कर्ष निस्कन नसेकाले अन्य दलसँग गठबन्धन जारी राख्ने तर नेकपा एससँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । उक्त विज्ञप्ति सार्वजनिक भइसकेपछि गठबन्धनको बैठकमा खैलाबैला मच्चिएको थियो । बैठकमा कांग्रेस सभापति किशोरदत्त बरालले उक्त विज्ञप्ति पार्टीको आधिकारिक नभएको र केन्द्रको निर्णय कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

पोखरामा गठबन्धनको बैठक चल्दै गर्दा कांग्रेस नेता रामचन्द्र पौडेलले पोखरा कुनै पनि हालतमा कांग्रेसले नछाड्ने र जिल्लामा पनि त्यही अडान लिन सभापति बराललाई फोन गरेका थिए । पौडेलकै अडानका कारण सोमबार काठमाडौंमा गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । पोखरा कांग्रेसले लिने कि समाजवादीले भन्ने नटुंगिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई मंगलबार काठमाडौं बोलाए ।

भेटमा पोखराबाट गएका नेताले कांग्रेसबाहेक अर्को पार्टीको उम्मेदवारले मेयर जित्न नसक्ने अवस्थाबारे प्रस्ट पारेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँग मिलेर जानुपर्ने अवस्था भएकाले त्यसलाई बुझिदिन आग्रह गरेको प्रदेश सभापति शर्माले बताए । मेयरको दाबी छाडेर गठबन्धनका लागि सहयोग गर्न र उम्मेदवारलाई जिताएर पठाउन प्रधानमन्त्री देउवाको निर्देशन थियो । ‘यथार्थमा पोखरामा कांग्रेसबाहेक दलको मेयर उम्मेदवारले गठबन्धन गरे पनि एमालेलाई जित्न सक्ने अवस्था छैन,’ समाजवादीलाई मेयर दिने गठबन्धनको निर्णयपछि उनले भने, ‘गठबन्धन चाहिन्छ तर यहाँको परिस्थिति के छ भन्ने नहेरी निर्णय गर्दा विपरीत परिणाम आउँछ ।’

‘रुख चिह्नबाट नलडे संघर्ष'

कास्की कांग्रेसले बुधबार पार्टीमा कार्यालयमा कार्यकर्ता भेला डाकेको छ । कास्की कांग्रेस सचिव भानु ढकालले उक्त भेलाले एकीकृत समाजवादीको जुनसुकै उम्मेदवार उठे पनि रुख चिह्न लिएर चुनाव लडे मात्रै सहयोग गर्ने निर्णय गर्ने बताए । ‘रुख चिह्नबाट लड्न तयार हुने हो भने कार्यान्वयन गरेर अगाडि जान्छौं, त्यसो गर्दा हामीलाई पनि अपनत्व महसुस हुन्छ,’ गगन थापा पक्षधर उनले भने, ‘होइन भने संघर्षको कार्यक्रम अगाडि बढाउँछौं । गठबन्धनको बैठक बस्न दिन्नौं । चुनावी अभियानलाई पनि अवरोध गर्छौं ।’ केन्द्रको निर्णयविपरीत जाँदा कारवाही भोग्नुपरे पनि तयार रहेको उनको भनाइ छ ।

कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपिला रानाभाट पोखराको मेयर आफ्नो पार्टीले नपाउँदा चुनावी परिणाममा कस्तो असर पर्छ भन्ने अहिले नै भन्न नसकिने बताउँछिन् । ‘पार्टीको निर्णय मान्नुपर्छ, गठबन्धनलाई नकार्न पनि सकिँदैन,’ उनले भनिन्, ‘कांग्रेस एउटा स्वतन्त्र पार्टी हो । कम्युनिस्टको जस्तो ह्वीप यहाँ जारी हुँदैन । आशा गरौं, अहिलेको अवस्थामा गठबन्धनको पक्षमा परिणाम आउँछ ।’ कांग्रेसको पोखरा महानगर समितिले मेयरका लागि आकांक्षीको नाम दर्ता गराउनेमा उनीसहित १८ जना थिए । उपमेयरमा १० जनाले नाम टिपाएका थिए ।

माओवादी केन्द्रका जिल्ला संयोजक बखानसिंह गुरुङ कम मत भएको समाजवादीलाई मेयर दिँदा जोखिम हुने देख्छन् । उनले समाजवादीले दाबी गरेजस्तो संगठन महानगरको वडाहरुमा नदेखिएको बताए । ‘भाग पाउनु मात्रै ठूलो कुरा होइन, जित्न पनि पर्‍यो,’ उनले भने, ‘कार्यकर्तालाई ह्वीप जारी गरेर मत हाल भनौंला तर जनताको स्तरमा भन्न सकिन्न ।’ केन्द्रले गरेको गठबन्धनको निर्णयलाई स्वीकारेर जानुपर्ने उनले बताए ।

यस्तो छ चुनावी हिसाबकिताब

०७४ को चुनावमा पोखरा महानगरपालिकामा कुल १ लाख ६८ हजार ६८ मतदाता रहेकोमा १ लाख २५ हजार ८५३ (७४.८३ प्रतिशत) मत खसेको थियो । त्यसमध्ये एमालेका मानबहादुर जीसी ६० हजार १ सय १८ मतसहित पोखरा महानगरको प्रमुखमा निर्वाचित भएका थिए ।

कांग्रेसका रामजी कुँवर १३ हजार ७ सय २ मत कम अर्थात् ४६ हजार ४१६ मत ल्याएर पराजित बने । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याउँदै निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ र माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत पाएका थिए । प्रमुखमा माओवादीले कांग्रेसलाई सघाउँदा त्यति मत आएको हो । भरतपुरमा रेणु दाहाललाई कांग्रेसले छाडेपछि पोखरामा माओवादीले सघाएको थियो । उपप्रमुखमा भने यी दुई पार्टी एक्लाएक्लै लडेका थिए । पोखराका ३३ मध्ये २२ वटामा एमाले र ११ वटामा कांग्रेसले वडाध्यक्ष जितेका थिए । धेरै मतदाता भएका १३, १४, १५, १६, १७ लगायत वडा एमालेले जितेको थियो ।

अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिँदा कुल मतदाताको संख्या दुई लाख सात हजार ७ सय १२ पुगेको छ । ७५ प्रतिशत मत खस्ने आकलन गर्दा पोखरामा मेयरको उम्मेदवारले चुनाव जित्न ६५ हजार मत ल्याउनुपर्छ । कांग्रेसले आफ्नो ६० हजार मत रहेको दाबी गर्दै आएको छ । समाजवादीले ५ हजार पार्टी सदस्यसहित मतदाता संख्या १७ हजार रहेको दाबीसहितको प्रतिवेदन गठबन्धनलाई बुझाएको थियो । माओवादीले महानगरमा २७ हजार मतदाता आफ्नो रहेको बताएको छ ।

कांग्रेसले आफ्नो माहोल राम्रो भएको र मतदाता संख्या धेरै भएको अवस्थामा गठबन्धनको जित सहज हुने भएकोले आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आएको थियो । अघिल्लो चुनावमा माओवादीको धेरै मत मानबहादुर जीसीलाई गएको यसपल्ट त्यस्तो नहुने कांग्रेसको अनुमान थियो । समाजवादीले ६ महानगर भागवन्डा गर्दा पोखरा आफूले पाउनुपर्ने बताउदै आएको थियो । समाजवादीको मेयरको उम्मेदवार को हुने भन्ने टुंगो लागिसकेको छैन । १४ जना आकांक्षीको नाम महानगर कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धनराज आचार्यले मुख्यरुपमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी पछिल्लो समय व्यवसायमा बढी सक्रिय थिए । स्टेसनरी, प्रकाशन गृह हुँदै हाल जनविद्युतमा लगानी गरिरहेका छन् ।

यति धेरै दलबीचमा गठबन्धन भएर पहिलोपल्ट निर्वाचनमा होमिन लागेकोले कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिनुलाई उनी स्वभाविक मान्छन् । असन्तुष्ट कार्यकर्तालाई मनाउन गठबन्धन सक्रिय हुने उनले बताए । ‘गठबन्धनका पार्टी नै हाम्रो शक्ति हुन्,’ उनले भने, ‘सिंगो टिम लागि परेर आम कार्यकर्ता, मतदातालाई अनुरोध गर्छौं । चुनाव चिह्नबारे बुझाउँछौं ।’ एमालेको ठूलो तप्काले आफूलाई सहयोग गर्ने उनले बताउँदै आएका छन् ।

एमाले भने पार्टी फुटको कुनै असर पोखरा महानगरमा नपरेको बताउँछ । एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ गठबन्धन हुँदा आफ्नो पार्टीलाई झन् सजिलो हुने बताउँछन् । ‘यसपल्ट २० हजार मतान्तरले चुनाव जित्छौं,’ उनले भने, ‘गठबन्धनलाई कुन चिह्नमा भोट हाल्ने भन्ने अप्ठेरो छ नि । त्यसले हामीलाई फाइदा पुर्‍याउँछ ।’

एमालेभित्रै भने कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने अझै टुंगो लाग्न सकेको छैन । महानगर समितिले जिल्ला र जिल्ला समितिले प्रदेशलाई १२ जना आकांक्षीको नाम सिफारिस गरेको छ । केन्द्रीय सदस्य भीम कार्की, बहालवाला प्रदेश सांसद कृष्णबहादुर थापा र राजीव पहारी, मीनाकुमारी गुरुङ, रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम सिफारिस भएको छ ।

महानगरमा निर्वाचनबाट ३ जनाको नाम सिफारिस गर्ने बताइए पनि गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको गुटबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित : वैशाख ७, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?