गुरु–शिष्य सम्बन्ध, साधनाका चरण र त्यसबेलाका प्रेरणादायी घटनालाई पुस्तकमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
काठमाडौँ — लेखक लोकनाथ भण्डारीद्वारा लिखित संस्मरणत्मक कृति ‘सोझो बाघ’ लोकार्पण गरिएको छ।
गुरुपूर्णिमा तथा आध्यात्मिक महोत्सवको अवसर पारेर देवघाटस्थित महेश गुरुकुलको सभागारमा आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो ।
महेश आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको आतिथ्य रहेको लोकार्पण समारोहमा प्राध्यापक गुरुप्रसाद सुवेदी, काशीबाट आएका विद्वान् प्राध्यापक राजाराम शुक्ल, प्राध्यापक हरिप्रसाद अधिकारीलगायत ख्यातिप्राप्त प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्वको सहभागिता थियो ।
‘सोझो बाघ’ संस्मरण विधामा तयार पारिएको पुस्तक हो, यस कृतिमा लेखक भण्डारीले प्रख्यात सन्त स्वामी रामानन्द गिरिको सामीप्यमा बिताएका पल र तिनका आध्यात्मिक अनुभूतिलाई समेटेका छन्।
गुरु–शिष्य सम्बन्ध, साधनाका चरण र त्यसबेलाका प्रेरणादायी घटनालाई पुस्तकमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको साहित्यिक वृत्तको भनाइ छ।
करिब ७० पृष्ठको यो लघुकाय कृतिले आकारमा सानो भए पनि गहिरो र सन्देशमूलक भाव बोकेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको कार्यक्रममा बताइयो ।
कार्यक्रमका वक्ताहरूले स्वामी रामानन्द गिरिको जीवनदर्शन, समाजप्रतिको योगदान र उहाँको मार्गदर्शनको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।
