काठमाडौंमा बखानबारे अन्तर्क्रिया

बखानलाई केन्द्रमा राखेर चितवनका सीमान्तकृत वर्गको समेत सम्बोधन गरेको ‘बखान’ ले प्रजातन्त्र मुक्ति सेनाको इतिहास, बिपी कोइराला र बखानबीचको आत्मीयतालाई प्रस्तुत गरेको छ ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Interaction about Bakhan in Kathmandu

काठमाडौँ — पत्रकार एवं लेखक वसन्त पराजुलीको उपन्यास ‘बखान’बारे काठमाडौंमा अन्तक्र्रिया गरिएको छ ।

उपन्यासले पश्चिम चितवनको बस्ती विकासदेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको अन्तक्र्रियामा चर्चा गरियो । 

आइतबार आयोजित अन्तरसंवादमा समीक्षक गुरुङ सुशान्तले लेखक पराजुलीले लेखेको ‘बखान’ उपन्यासले चितवनको विकासमा योगदान पु¥याएका बखानसिंह गुरुङले त्यसबेलाको शासन पद्धतिविरुद्ध लाग्दा भोग्नुपरेको पारिवारिक विखण्डनसहित चितवनका थारू, गुरुङलगायत जनजातिको धरातलको स्मरण गराएको जनाए ।

तत्कालीन समयको इतिहासलाई उपन्यासका रूपमा पाठकमाझ ल्याएर इतिहासमा गुमनाम हुन बाध्य बखानसिंहलगायत अन्य योद्धाका बारेमा बताउन सफल भएको उनको भनाइ छ ।  

प्रजातन्त्रका लागि आफ्ना छोरासमेत सहिद हुँदा पनि डटेर लाग्ने योद्धाको सर्वस्वहरण गरी घरमा आगो लगाएर उनका नाममा राखिएको बखानपुरकै नामसमेत हालको शारदानगर बनाएको कुरा आमाहरूको मुखबाट कथा जसरी सुन्दै हुर्किएँ, पत्रकार पराजुलीले त्यो इतिहासलाई उपन्यासका रूपमा नयाँ पुस्ताका सामुन्ने प्रकाशन गर्दा साहै्र हर्ष लागेको चितवन बखानपुरमै जन्मिएको र बखानसिंह गुरुङकी नातिनी पुस्ताको सहपाठीसमेत रहेकी शिला बस्नेतले जनाइन् ।

बखानसिंह गुरुङ नेपालको पहिलो सहकारीका प्रवर्धक भएको उनको भनाइ छ ।  

बखानलाई केन्द्रमा राखेर चितवनका सीमान्तकृत वर्गको समेत सम्बोधन गरेको यस कृतिले प्रजातन्त्र मुक्ति सेनाको इतिहास, बिपी कोइराला र बखानबीचको आत्मीयतालाई  प्रस्तुत गरेको समीक्षक राजकुमार बानियाँले बताए ।

बखानले इतिहासमा नेपालको परिवर्तनका लागि योगदान दिएका विभिन्न पात्रको इतिहास लेखिएको साहित्यकार कुन्ता शर्माले जनाइन् ।  

पराजुलीले पत्रकारितादेखि लेखन यात्रामा समेत आफूलाई अगाडि सारेकोमा साह्रै खुसी लागेको प्राडा लक्ष्मणप्रसाद गौतमले बताए । 

‘बखान’ उपन्यास एक स्थलगत अध्ययनसहित तयार भएको कृति भएको उनको भनाइ छ ।  ‘बखान’ उपन्यास पढ्दा बखानसिंह गुरुङले आफ्ना दुई छोराको सहादतका समयमा अनुभव गरेको संवेग, मनोदशाबारे चर्चा गर्न छुटेको अनुभव भएको पत्रकार पुरुषोत्तम दाहालले जनाए ।  

प्राप्त सुझावलाई अन्य कृतिमा अक्षरशः पालना गर्ने कोसिस गर्ने लेखक वसन्त पराजुलीले प्रतिबद्धता जनाए ।

बखानसिंह गुरुङको जीवनी नभई यस कृतिमा चितवनको बस्ती बसाल्दादेखिका सामाजिक, राजनीतिक परिवेशसहितको लुकेको  इतिहासबारे लेख्ने कोसिस गरेको उनको भनाइ छ ।  

कान्तिपुर

Link copied successfully