पत्रकारद्वय झा र पोखरेल सम्मानित

दुवै पत्रकारलाई प्रेस काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले नगद २६ हजार रुपैयाँ र सम्मान–पत्रले पुरस्कृत गरेका हुन् ।

वैशाख २८, २०८३

शिव पुरी

Journalist duo Jha and Pokharel honored

What you should know

रौतहट — मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका बेथिति र सुधारका पक्षलाई निर्भीक रूपमा कलममार्फत उजागर गर्दै आएकी पत्रकार चाँदनी झा र शारदा पोखरेल सम्मानित भएका छन् । 

धनुषालाई कार्यक्षेत्र बनाएर सक्रिय झा र बारालालाई कार्यक्षेत्र बनाएर क्रियाशील पोखरेललाई सोमबार रौतहटमा आयोजित एक समारोहका बीच यस वर्षको रामा यादव स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । 

दुवै पत्रकारलाई प्रेस काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले नगद २६ हजार रुपैयाँ र सम्मान–पत्रले पुरस्कृत गरेका हुन् । लामो समयदेखि पत्रकारितामा संघर्षरत पत्रकार झा विशेष गरी टेलिभिजन पत्रकारितामा स्थापित नाम हो । पुरस्कारले आफूलाई थप जिम्मेवारीबोध गराएको उनले बताइन् । उनी हाल प्राइम टेलिभिजन र टीभी टुडे जनकपुरमा आबद्ध छन् भने पोखरेल रातोपाटी अनलाइनमा आबद्ध छिन् । दुवैको मुख्य दख्खल र रुचि स्वास्थ्य पत्रकारितामा रहेको छ । Journalist duo Jha and Pokharel honored

सरकारी अस्पतालहरूको जीर्ण अवस्था र त्यहाँको सेवा प्रवाहको वास्तविकता चित्रण, विपन्न बिरामीले उपचारका क्रममा भोग्नुपरेका सास्ती, ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच र सरकारको उपस्थितिबारे उनीहरूले खोजमूलक रिपोर्टिङ गर्दै आएका छन् । 

रामा यादव स्मृति प्रतिष्ठान, रौतहटद्वारा स्थापित पुरस्कारले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने महिला पत्रकारलाई सम्मान गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष अनु यादवले जानकारी दिइन् । मधेश प्रदेशमा स्वास्थ्य सेवा अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको र यस्तो समयमा अस्पतालका बेथिति, नागरिकका समस्यालाई मूलधारको समाचार बनाउनु जोखिमपूर्ण, चुनौतीपूर्ण मानिन्छ । पत्रकार झाले चलाएको कलमले स्थानीय प्रशासन र सरोकारवाला निकायलाई जवाफदेही बनाउन मद्दत पुर्‍याएको पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully